स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुनका लागि अझै चार महिना



०५ कार्तिक २०७६, काठमाडौं

स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुनका लागि अझै चार महिना लाग्ने भएको छ। हालसम्म सरकारले स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको हो।

सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन्। उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको छ।

कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो। सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने समायोजनको सुरुमै प्राविधिक त्रुटि भएकाले समस्या उब्जिएको बताए। उनले तराईका २० जिल्ला र देशका ठूला सहरमा समायोजन गरी कर्मचारी व्यवस्थापन गर्न समस्या रहेको बताए।

उनले एउटा दरवन्दी भएको ठाउँमा कति कर्मचारी पठाउने भन्नेमा समस्या रहेको बताए। स्वास्थ्य समूहतर्फ २७ हजार कर्मचारीको समायोजन गरिएको छ। जसमा आठ हजारले पहिलो चरणमा र पाँच हजारको हाराहारीमा दोस्रो चरणमा गुनासो दर्ता गराएका थिए।

जसको सम्बोधन सरकारले निरन्तर गरिरहेको छ। स्वास्थ्य बाहेकका अन्य कर्मचारीको समायोजन गत फागुनमै टुङ्गिएको छ। स्वास्थ्य समूहमा उब्जिएको विवाद नटुङ्गिदा देशभरको स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ। यद्यपि, सरकारले भने समायोजन सूचि सार्वजनिक गर्दै रिक्त स्थानमा कर्मचारी पठाइसकेको र सेवा प्रभावित नभएको दावी गर्दै आएको छ।

तर, गुनासो सम्बोधन भएनभएको बुझ्न दिनहुँ मन्त्रालयमा कर्मचारीको भिड लाग्ने गरेको छ। स्वास्थ्यकर्मी दिनहुँ मन्त्रालय धाउँदा कार्यक्षेत्र भने खाली हुने गरेको स्वास्थ्यकर्मीहरु नै बताउँछन्।

प्रतिक्रिया दिनुहोस्