औषधि व्यवस्था विभागले न्युट्रास्युटिकल्स प्रडक्टको मापदण्ड यसरी तोक्यो



०५ कार्तिक २०७६, काठमाडौं

औषधि व्यवस्था विभागले न्युट्रास्युटिकल्स प्रडक्ट (फुड तथा डाइटरी सप्लिमेन्ट) को ११ बुँदे मापदण्ड तोक्दै त्यसबाहेकका प्रडक्टहरु आयात विक्री वितरण र सिफारिस नगर्न आयातकर्ता, फार्मेसी सञ्चालक र चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

विभागले आज (मगलबार) एक सूचना जारी गर्दै निर्देशन पालना नगर्नेलाई जो कोहीलाई औषधि ऐन २०३५ बमोजिम कारवाही हुने चेतावनी दिएको हो।

विरामीहरुलाई अनावश्यक रुपमा फुड तथा डाइटरी सप्लिमेन्ट (न्युट्रास्युटिकल्स प्रडक्ट) भिडाउने क्रम बढदै गएपछि औषधि व्यवस्था विभागले यस्तो सूचना जारी गरेको हो। फर्मास्युटिकल बनावट (ट्यावलेट क्याप्सुल तथा झोल)मा आएका यस्ता प्रडक्टहरु औषधिको तुलनामा निकै महंगो हुन्छ।

आयातकर्ता र फार्मेसीले यस्ता प्रडक्टको विक्री वितरण गर्दा बढी नाफा हुने भन्दै विक्री वितरणमा प्रोत्साहन गर्ने गरेको पाइन्छ। उता कतिपय चिकित्सकहरुले पनि कमिसनको लोभमा यस्ता प्रडक्टहरु सिफारिस गर्ने गरेको बताइन्छ।

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले विभागले यस्ता फुड तथा डायटरी सव्लिमेन्टहरुको मापदण्ड तोकिएको भन्दै यसबाहेकका मापदण्ड रहेका बस्तुहरु सबै प्रतिवन्धित रहेको जनाए । उनले यसबारेमा २०४९ फागुन १८ को नेपाल राजपत्रमा स्पष्ट रुपमा सूचना प्रकाशित भईसकेको भन्दै कोही पनि भ्रममा नपर्न र नपार्न आग्रह गरेको बताए।

विभागले आज जारी गरेको सूचनामा भिटामिन ए, डी, बी१, बी२, बी६, बी१२, भिटामिन सी, भिटामिन ई, फोलिक एसिड, पान्टानिक एसिड लगायतका बस्तुहरुमा हुनुपर्ने डोजहरुको मापदण्ड तोकेको छ।

प्रतिक्रिया दिनुहोस्