अस्पतालभित्रै रक्सीका बोतल भेटिएपछि लफडा



०३ असोज २०७६, काठमाडौं

इनरुवा अस्पतालभित्रै ठूलो परिमाणमा रक्सीका खाली बोतल भेटिएका छन्। सामाजिक अभियन्ताहरुले अस्पताल परिसर सरसफाइ गर्ने क्रममा रक्सीका बोतल भेटेका हुन्। सुनसरीको पहिलो इनरुवा अस्पताल फोहोर बन्दै गएपछि स्थानीय युवाले सरसफाइको अगुवाइ गरेका हुन्।

इनरुवा इभेन्ट म्यानेजमेन्टका राकेश निरौलाले अस्पतालको छतदेखि डाक्टरको कोठासम्म रक्सीका बोतल भेटिएको बताए।

लामो समयदेखि अस्पताल परिसरको फोहोर उठाउन अस्पताल प्रशासनले चासो नदिएकोले आफूहरु अग्रसर भएको उनको भनाइ छ। दिनप्रतिदिन अस्पताल दुर्गन्धित बन्दै गएकोले बिरामीदेखि कुरुवासम्मलाई समस्या भइरहेको उनी बताउँछन्।

अस्पतालजन्य फोहोर आफैंमा हानिकारक हुने भए पनि सोको उचित व्यवस्थापनका सवालमा अस्पतालले चासो नदिएकाले आफूहरु फोहोर संकलन गरी व्यवस्थापनको कार्यमा जुटेको उनको तर्क छ।

अस्पतालमा रक्सीका बोतल भेटिएपछि अस्पताल प्रशासनमा खैलाबैला मच्चिएको छ। राजनीतिक ध्रुवमा बाँडिएको प्रशासनका कर्मचारी एकले अर्को पक्षलाई दोष देखाउँदै उम्किने प्रयार गरिरहेका छन्।

हालको व्यवस्थापन समितिको अध्यक्ष रहेका गोपाल राजभण्डारी कर्मचारी र डाक्टरहरु नै गलत भएको बताउँछन्। प्रशासनलाई फसाउने नियतिले यो सब भइरहेको उनको बुझाइ छ।

कर्मचारीलेनै अटेर गरेर व्यवस्थापन समितिलाई वास्ता गर्न छाडेको उनको भनाइ छ। लामो समयदेखि आफूले हिसाबकिताब मागेको भएपनि कर्मचारीले आलटाल गर्ने गरेको उनले बताए। डाक्टरहरु आफैं रक्सी खाएर उपचारमा संलग्न हुने कुरा आएको उनी स्वीकार्छन्।

प्रतिक्रिया दिनुहोस्