एनआरएनएको साझा चरित्र जीवन्त राख्न नेकपाले कहिल्यै हस्तक्षेप गर्दैन : महासचिव पौडेल



०३ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा आएका प्रतिनिधि मध्ये पार्टीका अगुवा समर्थकहरुसँग पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले एनआरएनए गैरआवासीय नेपालीहरुको साझा संगठन भएकोले यसको साझा चरित्र जीवन्त राख्न पार्टीले कुनै किसिमको हस्तक्षेप नगर्ने पार्टी धारणा रहेको बताएका छन् ।

नेपाली काँग्रेस जस्तो पर्दा पनि नराखी नाङ्गो भूमिका मात्र होईन भित्रि रुपमा समेत पार्टीका कुनै केन्द्रीय नेताहरुले एनआरएनएका आगामी निर्वाचनहरुमा समेत कुनै भूमिका नखेल्ने प्रष्ट पार्दै वर्तमान निर्वाचनमा काँग्रेसका एक दर्जन बढी केन्द्रीय सदस्यहरु एनआरएनए प्रतिनिधिहरु बसेको होटलमा अड्डा जमाएर बसेको मात्र होइन सबैजसो तरुण दलका केन्द्रीय नेताहरु निर्वाचन परिचालनमा खटेको जानकारी हुँदाहुँदै पनि हामीले कसैलाई सहभागी हुन निर्देशन गरेनौँ, किनभने हामी एनआरएनएको साझा चरित्रलाई जोगाउन चाहान्छौँ ।

पार्टी एकता नसकिएको कारण सरकारले गरेका राम्रा कामहरुको बारेमा आफ्नै साथीहरुले प्रतिरक्षा नगर्दा सरकार निरिह जस्तो देखिएको बताउँदै एकताको काम केहि हप्ताभित्र टुंगिने जानकारी समेत गराएका थिए ।

नेकपाका नेता सुवास नेम्वाङ्गले निर्वाचनका बेला काँग्रेसले जे नगर्नु पर्ने थियो, त्यो गर्‍योे भन्दै पार्टीले समन्वय नगरेको कारण हाम्रा केहि साथीहरुले पराजय भोग्नु दु:खद् भएपनि समग्र परिणाम राम्रो रहेको बताए ।

नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले पार्टीको कार्यदिशा प्रष्ट भएको बताउँदै पार्टी एकता ढिला हुँदा जनता–सरकार–पार्टी बिचको सम्बन्ध कमजोर भएको,  विधि र प्रक्रिया भन्दा पनि लिगलिगे दौड जसरी जो पहिला पुग्यो उसैले जिम्मेवारी पाउने अवस्था रहेको बताउँदै यो तत्काल अन्त्य हुने जानकारी दिँदै पार्टी अब पद्धतिसंगत ढंगले चल्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा अमेरिका क्षेत्रको प्रतिनिधित्व गर्दै संजय थापाले एनआरएनए निर्वाचनमा पार्टीले हस्तक्षेप नगरेको प्रति सन्तुष्टि जनाउँदै आगामी दिनमा थप व्यवस्थापनको लागि प्रवासमै रहेका साथीहरुलाई जिम्मेवारी दिनुपर्ने धारणा राख्दै विदेशी नागरिकता लिएका साथीहरुलाई पार्टीको जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा पार्टी प्रष्ट हुनुपर्ने धारणा राखे ।

समग्र गल्फ क्षेत्रको प्रतिनिधित्व गर्दै बोलेका डि.वि. क्षेत्रीले एनआरएनए निर्वाचनमा पार्टीका साथीहरुबाट सशक्त अन्तरघात भएको बताउँदै पार्टी केन्द्रीय कार्यालयमा मजदूर क्षेत्र हेर्ने छुट्टै डेक्सको ब्यवस्था गरी प्रवासी मजदूरका समस्या तत्काल समाधान गर्न पार्टीले संयन्त्र बनाउनुपर्ने धारणा राखे ।

एशिया प्रशान्त क्षेत्रबाट परशुराम सापकोटाले कोरियामा विगत ७ महिनादेखि नेपाली राजदूतको अभावमा धेरै नेपालीहरुले दु:ख पाएकोले तत्काल राजदूत पठाउन अनुरोध गरे ।

युरोपको प्रतिनिधित्व गर्दै बोल्ने सुरेन्द्र भुषालले एनआरएनए निर्वाचनमा युरोप क्षेत्रबाट पराजित हुनुमा पार्टी भित्रको गुट जीवित रहेको बताउँदै पार्टी दह्रो बनाउने तर्फ ध्यान दिन नेतृत्वलाई अनुरोध गरे ।

गल्फ क्षेत्रकै प्रतिनिधित्व गर्दै बोलेका सन्दिप कुमार ओलीले पार्टी एकता प्रक्रिया तुरुन्त टुङ्ग्याउन अनुरोध गर्दै मजदूरहरुको समस्या समाधान गर्न सरकार र पार्टीले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।

एनआरएनए निर्वाचनको उपाध्यक्ष पदमा थोरै मतले पराजित धर्मराज अधिकारीले निर्वाचनमा आफ्नै साथीहरुले मतदान नदिएकोमा दु:ख व्यक्त गर्दै विगत २४ वर्षदेखि नेपाली हरियो पासपोर्ट बोकेर अष्ट्रेलियामा बसोबास गर्दा गर्व लागेको अनुभव सुनाउँदै आफ्नो देश टाढा भएरै पार्टीले बेवास्ता गरेको हो कि भनी नेतृत्वलाई प्रश्न गरे ।

अन्तरक्रिया कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै पार्टी नेता युवराज कार्कीले प्रवासी चिनियाँहरुको भूमिकाले चीन र प्रवासी भारतीयहरुको योगदानले भारत बनेको उदाहरण दिँदै सयभन्दा बढी मुलुकमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपालको समृद्धीमा योगदान पुर्‍याउन आव्हान गरे ।

सभाध्यक्षको रुपमा बोल्दै नेकपा नेतृ विन्दा पाण्डेले केन्द्रीयता र जनवाद आफ्नो अनुकूलतामा साथीहरुले सोच्ने गरेको बताउँदै ३ एनआरएनए सम्मेलनमा सहभागी एउटै प्रतिनिधिले फरक–फरक विचार राखेको धारणा राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन अघोषित दुतको भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस्