सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने



२८ असोज २०७६, काठमाडौं

महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने भएको छ।

दशैंको बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले उच्चा रक्तचापको समस्या देखिएपश्चात नर्भिक अस्तपालमा भर्ना गरिएको छ।

प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी समेत गरेको छ।

घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो या होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो। प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको स्रोतले जानकारी दिए।

संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा ती सबुत देखाइएको थियो। आफू सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्