गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तोडफोड



२७ असोज २०७६, काठमाडौं

राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिरामीका आफन्त र युवाहरुको समुहले तोडफोड गरेका छन्। बिरामी जाँचमा डाक्टरहरु जिम्मेवार नभएको आरोप लगाउँदै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन्।

अस्पतालमा कार्यरत कर्मचारीका अनुसार, दिउसो १ बजेसम्म पनि हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पतालमा नआएको भन्दै बिरामीका आफन्त र आक्रोशित युवाको समुहले अस्पताल तोडफोड गरेका हुन्।

तोडफोडका कारण डा. झा र डा. यादवको बिरामी जाँच गर्ने कोठामा क्षति पुगेको छ। युवाहरुको समुहले टेवुल, कुर्ची र कागजपत्र जाँच कक्षवाट बाहिर फालेका छन् भने नेमप्लेट तोडफोड गरिएको छ।

उक्त तोडफोडसँगै आक्रोसित समुहले अस्पताल प्रशासनविरुद्ध नाराजुलुस समेत गरेका गरेका छन्।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज १ का २२ वर्षिय गुन्जन झालाई पक्राउ गरेको छ। सामान तोडफोड गर्ने र कागजपत्र मिल्काउने कार्यमा झाले प्रमुख भुमिका खेलेको डिएसपी तिलक भारतीले बताए। घटनामा संलग्न अन्य तीन जनाको खोजी कार्यक्र भइरहेको उनले जानकारी दिए।

अस्पताल प्रशासनले भने जनशक्ति कमी भएर समस्या आएको बताएको छ । डा ज्ञानेन्द्र झा बिदामा वसेको र डा। प्रनेश यादव राउण्डमा भएका वेला युवाहरुको समुहले तोडफोड गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दिलिप साहले बताए। ‘एक जना डाक्टर राउण्डमा पनि जानुपर्ने र इमर्जेन्सि पनि भ्याउनु पर्ने भएकाले केहि ढिलो भएको हो’, उनले भने, ‘हाम्रो समस्या नबुझी उहाँहरुले तोडफोड गर्नुभयो।’

तोडफोडको घटनामा बिरामी जाँचको विषयभन्दा पनि राजनितिकरण भएको हुनसक्ने उनले आशंका गरेका छन्।

प्रतिक्रिया दिनुहोस्