देशभर क्यान्सर औषधीको अभाव



१६ असोज २०७६, काठमाडौं

क्यान्सर रोगका लागि चलाइने अत्यावश्यक औषधि ‘फाइबएफयू’ देशभर अभाव देखिएको छ। बिरामीका आफन्त अहिले सीमावर्ती भारतीय बजारसम्म पुगेर औषधि किन्न बाध्य छन्।

भारतलगायत तेस्रो मुलुकबाट ल्याइँदै गरेको औषधि पछिल्लो समय आएको छैन।

बिरामीले दुःख नपाउन् भनेर केही दिनको लागि वैकल्पिक औषधि चलाइरहेको वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा.विवेक आचार्यले बताए।

डा. विवेकका अनुसार, ‘सीस्प्लाटिनजस्ता वैकल्पिक औषधि छन् तर यी महँगा र कम प्रभावकारी छन्।’ दैनिक २ देखि ३ पटक चाहिने भएकाले गरिब बिरामीले वैकल्पिक औषधिको खर्च धान्न समेत नसक्ने स्थिती रहेको छ।

क्यान्सर रोग उपचारमा अत्यावश्यक औषधि ‘इटोपोसाइड’ र ‘भिन्क्रिस्टिइन’ पनि बजारमा छैनन् । डा. आचार्यका अनुसार यी औषधि बजारमा उपलब्ध अन्य औषधिको तुलनामा सस्तो र बढी प्रभावकारी हुन्छन्।

क्यान्सरका औषधि यसअघि पनि अभाव हुने गरेको थियो। वीर अस्पतालले स्टकमा राखिएको औषधि बिरामीलाई निशुल्क दिँदै आएको थियो। मृगेन्द्र–सम्झना चिकित्सा गुठी, डा.ताराबहादुर खत्री ट्रस्टले उपलब्ध गराउने वार्षिक एक लाखसम्मको औषधिले पनि अभाव टार्न सहयोग गथ्र्याे।

बजारमा औषधि नपाउँदा बाहिर जँचाइरहेका बिरामीसमेत वीरमा जान्थे। अहिले भने वीरकै बिरामीलाई औषधि अभाव हुन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्