खुला दिसामुक्त देश घोषणा भएकै दिन इटहरीमा देखिएः १० जना छालाका बिरामी



१४ असोज २०७६, काठमाडौं

सरकारले हिजो (सोमबार) नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्याे। एसियामै पहिलो पटक खुला दिसामुक्त देश घोषणा गरिएसँगै सरकारले नयाँ उपलब्धि हासिल गरेको सरकारी अधिकारीको दाबी छ।

खुला दिसामुक्त देश घोषणा भएकै दिन इटहरी– १७ पकलीमा १० जना छालाका बिरामी एकैसाथ देखिए। पकली स्वास्थ्य चौकीमा आएका सबैको समस्या एउटै प्रकारको थियो, फोहोरका कारण एलर्जी र दादुरा।

पकली गाउँको सिरानमा पर्छ मुस्लिम टोल, जहाँ अधिकांश घरमा शौचालय छैन। शौचालयविहीन परिवारले पैनी र खेतको डिलमा शौच गर्छन्। बर्खाको समय भएकोले त्यही पानी बगेर गाउँभरी समेत पुग्छ।

त्यत्ति मात्रै नभएर स्थानीय मुस्लिम समुदायको नुहाउने र लुगा धुने काम त्यही पैनीमा हुन्छ। भैंसी आहाल बसाउने, माछा मार्ने, नुहाउने, कपडा धुने, शौच गर्ने सबै एउटै पैनीमा हुन्छ।

स्कुले बालबालिकादेखि वृद्धवृद्धा सम्मको दैनीकी त्यही पैनीबाट नै चलेको छ। कलको पानी तान्नको झन्झटले सबैजसो परिवारले त्यही पैनीकै पानी चलाउँने गर्दछन्।

उनीसँगै आएका उनका ससुरा रहिम महम्मदको पनि सोही प्रकृतिको समस्या छ। उनी पनि नियमित एलर्जीको औषधि सेवन गर्दा रहेछन्।

स्वास्थ्य कार्यालय पकलीकी प्रमुख (एचए) यमकुमारी ठकुरीका अनुसार दैनिक २० देखि ६० जनासम्म बिरामी आउँछन्। सबैभन्दा धेरै प्रेसर, सुगर र छाला सम्बन्धी रोगका बिरामी आउने गरेको उनी बताउँछिन्। त्यसमध्ये पनि ५० प्रतिशतभन्दा बढी छाला रोगका बिरामी हुने उनको भनाइ छ।

फोहोर पानीमा खेल्ने र त्यही पानी प्रयोग गर्ने भएका कारण यो समस्या आएको उनी बताउँछिन्। आफूहरुले बारम्बार फोहोर पानी नचालाउने भन्दा पनि बेवास्ता गर्ने गरेको उनको भनाइ छ। कपडा धुन र नुहाउन सजिलो भएकोले त्यही फोहोर पानी भए पनि प्रयोग गर्ने गरेको ठकुरीको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्