
१४ भदौ २०७६, काठमाडौं
रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपश्चात (आज) मगलबार मृत अवस्थामा फेला परेका छन्।
शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको हो।
कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल जङ्गलमा मृत अवस्थामा फेला परेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका हुन्।
उनका आफन्त गाडी लिएर खोज्न जाँदा खातुङ्गको बाटोमुनि चप्पल र झोला देखिएको थियो। सोही स्थानमा खोजतलास गर्दा तल खोल्सामा मृत अवस्थामा शव भेटिएको प्रहरीको दाबी छ।
आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन्। थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए।





