
१२ असोज २०७६, काठमाडौं
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। मन्त्रालयकै पत्र लिएर ढकाल गत साता अघि मात्रै विभागमा हाजिर हुन भएका थिए।
गत शुक्रबार विभागमा पुगेको पत्रमा २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार महानिर्देशक ढकाललाई कामकाज गर्ने गरि मन्त्रालय तानिएको उल्लेख छ। पत्र पाएपछि ढकालले आफूलाई अनौठो नलागेको प्रतिक्रिया समेत दिए।
‘उनले भने, अरुलाई अनौठो लाग्ला तर मलाई अनौठो लागेको छैन। पछिल्लो मितिको पत्रले हाजिर हुनु भन्छ, अघिल्लो मितिको निर्णयले सरुवा भएको भन्छ। यो सबै गोलमाल छ। मन्त्रालय गएर थप परामर्श नलिई भएन,।’
गत १५ असारमा भएको समायोजन पछिको पदस्थापनमा महादिर्नेशकबाट हटाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख बनाएपछि ढकाल सो निर्णय विरुद्ध २५ असारमा सर्बोच्च अदालत गएका थिए। अदालतले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो।
सर्बोच्चको आदेशको कार्यान्वयन गरेको भन्दै मन्त्रालयले गत १ असोजमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भन्दै ढकाललाई पत्र दिएको थियो।
ढकालले सोही पत्र बोकेर विभाग पुगी गत आईतबारबाट महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनको ठाँउमा दशौँ तहका पानबहादुर क्षेत्रीले निमित्त महानिर्देशक बनि काम काज सञ्चालन गरेका थिए।





