स्वास्थ्य र शिक्षालाई व्यापारीकरणबाट रोक्नुपर्छ: उपराष्ट्रपति पुन



११ असोज २०७६, काठमाडौं

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को उद्घाटन गर्दै उनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताएको हो।

“नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्छ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्दछ।”

उपराष्ट्रपति पुनले नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक र होमियोपेथिक चिकित्सालगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनुपर्नेमा उनको रहेको छ।

उनले भने, “सुविधा सम्पन्न निजी अस्पताल महङ्गा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासा छन्, त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बबनाउनु आवश्यक छ।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरे पनि हाम्रा नागरिकले समान पहुँच पाउन नसकिरहेको उल्लेख गर्दै क्यान्सरलगायत सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव भएको बताए।

उनले भने, “हामीले अन्तिमसम्म आफ्नो देशमै उपचारको प्रयास गर्नुपर्दछ। त्यसका लागि श्रोत, साधन, प्रविधि र आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ।” आज क्यान्सरका हजारौँ बिरामी भारतका विभिन्न अस्पतालमा पुगिरहेको बताउँदै उनले यसबाट नेपाली रुपैयाँ बाहिरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्