डेङ्गुको संक्रमण नरोकिँदै थपियो स्क्रब टाइफस



०८ असोज २०७६, काठमाडौं

गत वैशाखबाट शुरु भएको डेङ्गु रोगको संक्रमण कम हुन नपाउँदै फेरि अर्को रोगको संक्रमण शुरु भएको छ।

डेङ्गु रोगको महामारी सँग–सँगै अर्को रोग स्क्रब टाइफसले ६३ जिल्लालाई प्रभावित बनाईसकेको छ।

मुसामा हुने माईट नामको जिवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफस गत साउन १ गतेदेखि असोज ६ गतेसम्म ६ सय ९५ जना बिरामी भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ।

स्क्रब टाइफसको कारण ३ जनाको मृत्यु समेत भईसकेको छ। विशेषगरी खेतबारी, जंगल तथा झाडी हुने मुसामा रहेको माइटका कारण स्क्रब टाइफस लागेर मानिसहरु बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ।

सबैभन्दा बढी बिरामी धादिङमा

साउनबाट ६३ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट सबैभन्दा बढी प्रभावति धादिङ रहेको महाशाखाको तथ्यांकले देखाउँछ। साउनदेखि असोज ६ गतेसम्म धादिङमा मात्रै ७४ जनामा यो रोग देखिएको हो।

यस्तै, डडेल्धुरा स्क्रब टाइफस संक्रमणको दोस्रो प्रभावित जिल्लामा पर्दछ। डडेल्धुरामा ६१ जना स्क्रबटाइफसको संक्रमण देखिएको छ।

यस्तै, पाल्पामा ५९, रुपन्देहीमा ४६, गुल्मीमा ३६, काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घखाँचीमा १८, वर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २०, जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।

यस्तै, अन्य जिल्लाहरुमा पनि बिरामीहरु देखिन थालेका छन्।

कुन प्रदेशमा कति बिरामी देखिए?

पुस यता स्क्रब टाइफसका कारण सबैभन्दा प्रभावित भने प्रदेश ५ रहेको छ। प्रदेश ५ का जिल्लाहरुमा मात्रै २ सय ३७ जना स्क्रब टाइफसको संक्रमण देखिएको छ।

यस्तै प्रदेश ३ मा २ सय ४, गण्डकी प्रदेशमा ५१, प्रदेश २ मा २२, प्रदेश १ मा १८ र कर्णाली प्रदेशमा ८ जनामा संक्रमण भएको महाशाखाको तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस्