सावधानः इलेक्ट्रिक चुरोटले स्वास्थ्यमा पुर्याउँछ यस्तो खतरा



०४ भदौ २०७६, काठमाडौं

पछिल्लो समय युवापुस्तामा भेपिङ अर्थात् विद्युतीय चुरोट निकै लोकप्रिय बनेको देखिन्छ।

परम्परागत चुरोटभन्दा सुरक्षित हुने विश्वासका साथ युवाहरुले भेपिङको प्रयोग गर्दै आएका कारण यसलाई परम्परागत चुरोटको विकल्पका रुपमा समेत हेर्ने गरिएको छ।

भेपिङका कारण मानिसहरुको ज्यान गएको समाचार पनि बेला–बेलामा सार्वजनिक हुँदै आएको छ। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा भेपिङका कारण ६ जनाको मृत्यु भईसकेको छ।

त्यस्तै, भेपिङकै कारण अमेरिकामा करिव ३ सय ८० भन्दा बढीमा गम्भीर फोक्सोको समस्या देखिएको अध्ययनले खुलाएको छ।

यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरेका कारण अमेरिकाले केही समयअघिमात्रै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने घोषणा पनि गरिसकेको छ।

त्यसबाहेक हालै भारतले पनि विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ।

विद्युतीय चुरोटले स्वास्थ्यमा गम्भीर असर पुर्याेउने भएका कारण प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्दै आएका छन।

जान्नुहोस्ः विद्युतीय चुरोटले कस्तो–कस्तो समस्या निम्त्याउँछ?

फोक्सोमा समस्या:

विद्युतीय चुरोटको दीर्घकालीन असरबारे विस्तृत अध्ययन नभए पनि भेपिङका कारण तत्कालै फोक्सोमा गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरुको भनाई छ।

भेपिङको रसायन फोक्सोमा पुग्ने र त्यसले फोक्सोमा पक्षघात समेत उत्पन्न हुनसक्ने चिकित्सकहरुको चेतावनी छ।

त्यसबाहेक भेपिङले निमोनिया हुनसक्ने जोखिम बढाउँछ।

पड्किने डर:

विद्युतीय चुरोट ब्याट्रिबाट चल्ने भएकाले पहिलो जोखिम भनेको पड्किने डर नै हो।

विद्युतीय चुरोट प्रयोग गर्न यसलाई चार्ज गरिरहनुपर्ने हुन्छ। ब्याट्रिमा प्राविधिक गडबडी भएको खण्डमा विद्युतीय चुरोट पड्किने सम्भावना रहन्छ।

गत जुनमा मात्र एक १७ वर्षे किशोरले विद्युतीय चुरोटको प्रयोग गर्दा पड्किँदा उनको अनुहार कुरुप बन्न पुगेको थियो।

मष्तिष्क रोगः

विद्युतीय चुरोटले मष्तिष्क रोगको पनि जोखिम बढाउँछ।

युवा तथा किशोर उमेर समूहका विद्युतीय चुरोट प्रयोगकर्तामाझ अधिक निकोटिनका कारण मष्तिष्करोगको जोखिम उत्पन्न हुन्छ।

जसले मष्तिष्कघात तथा अन्य किसिमका मानसिक रोग समेत उत्पन्न हुने चिकित्सक एवं वैज्ञानिकहरुको भनाई छ।

हृदयरोगको जोखिमः

विद्युतीय चुरोटको रसायनले मुटुमा समेत समस्या उत्पन्न गराउँछ।

भेपिङमा प्रयोग हुने निकोटिन रसायनका कारण रक्तसञ्चार प्रणालीमा बाधा उत्पन्न हुने, हृदयघात र एक्कासी मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ।

भेपिङले रगतमा रहेका कोषिकामा असर पार्ने भएका कारण यस्तो जोखिम उत्पन्न हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्