
०३ असोज २०७६, काठमाडौं
सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड,नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन्।
पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका हुन्।
विश्वस्वास्थ्य संगठनका (डब्लूएचओ) अनुसार, नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।
आज (शुक्रबार) शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स)सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए।
मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ। हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ।





