नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने एउटा प्रयास ‘दर्शन–परिचर्चा’



यसहप्ताबाट शुरु गर्ने तयारी गरिरहँदा दर्शन–दिग्दर्शनको शीर्षक जुध्न गएकोले आगामी हप्तादेखि ‘दर्शन–परिचर्चा’ शुरु गर्ने जानकारी गराउँदछौं ।

०१ असोज २०७६, काठमाडौं

हामीले हरेक हप्ता आईतबार र बुधवार प्रकाशन तथा प्रसारण गर्नेगरी दर्शन सम्बन्धी जानकारी दिने कार्यक्रम ‘दर्शन–परिचर्चा’ शुरु गर्दैछौँ । कार्यक्रमको पहिलो छनोटमा हामीले मार्क्सवादी दर्शनलाई लिएका छौँ ।

अहिले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुका सिद्धान्त र व्यवहारमा खासै अन्तर देखिदैन । निर्वाचितहरु कम्युनिष्ट वा प्रजातान्त्रिक आचारण बोकेका पार्टीहरुबाट छन् तर उनीहरुको आचरण र जीवन शैलीमा केहि फरक देखिदैन ।

अझ प्रष्ट भाषामा भन्नुपर्दा नेपालका पार्टीहरु आफ्नो चरित्र अनुसार संचालन नहुने दिशातर्फ अगाडि बढेका देखिन्छन् । प्रजातान्त्रिक विचारधाराको नेतृत्व गर्ने नेपाली काँग्रेस लगायतका पार्टीहरुमा प्रजातान्त्रिक चरित्र छैन भने मार्क्सवादी, लेनिनवादी विचार बोकेको कम्युनिष्ट पार्टी पनि त्यो विचार र चरित्रबाट स्वखलित हुँदै गएको देखिन्छ।

मुलुकमा अहिले स्थानीय, प्रादेशिक र संघीय सरकारमा करिब दुई तिहाईको हाराहारीमा कम्युनिष्ट पार्टीको सरकार छ । नेपाल कम्युनिष्ट पार्टीको नाम र चिन्हबाट निर्वाचन जितेका जनप्रतिनिधिको जीवनशैली, नीति कार्यक्रम, व्यवहार कम्युनिष्ट व्यवहारबाट च्युत हुँदै गएका चर्चाहरु चल्न थालेका छन् ।  त्यसले नेपालको कम्युनिष्ट आन्दोलन खतरातर्फ जान थालेको भन्ने बहसहरु समेत सुनिन थालेका छन् ।

त्यसैले वर्तमान समयमा मुलुकको धेरैजसो क्षेत्रहरुमा प्रभुत्व जमाएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई वैचारिक र दार्शनिक ज्ञानमा उपयोगी होस् भन्ने उद्देश्यले मार्क्सवादी दर्शन र पूर्वीय दर्शनमा दख्खल राख्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पार्टी स्कूल विभागका उपप्रमुख समेत रहेका डा. वेदुराम भूसालबाट पहिलो चरणमा दार्शनिक छलफल शुरु गर्न गईरहेका छौँ ।

नेपाली, अंग्रेजी, हिन्दी र अवधी  भाषाको दख्खल भएका भुसालले मदन भण्डारीको नेतृत्वमा प्रतिपादन भएको ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधी समेत गरेका छन् ।

निरन्तर १२ वर्ष जेल जीवन बिताएका भुसालले सी.के. प्रसाईलाई जवाफ (२०४७), दर्शनशास्त्र परिचय (२०५९), उग्र वामपन्थः एक विवेचना (२०६५), मारक्सवादी दर्शन (२०६७), बहुलवादका सम्वन्धमा (२०६७), जवजका दार्शनिक मान्यताहरू (२०६८), नेपालमा प्रचलित दार्शनिक चिन्तनहरू (२०६८), मार्क्सवाद र अवको एमाले (२०७१), जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम (विद्यावारिधि शोधप्रबन्ध) (२०७५), बन्दीको मन (कविता संग्रह) (२०६७) जस्ता दर्जन बढी बैचारिक पुस्तकहरु लेखिसकेका छन् ।

करिब ५ दशकदेखि कम्युनिष्ट पार्टीको जिम्मेवारीमा रहेका भुसालले नयाँ जनवाद (मासिक), Pushpalal – historical Notes,  नेपाल कम्युनिष्ट पार्टी दस्तावेज संग्रह भाग – १, २, ३, ४, ५ , कार्यसम्पादन तथा राजनीतिक पत्र संग्रह भाग– १, पार्टी शिक्षा भाग– १, २, ३,  नेकपा (एमाले) पार्टी स्कूल सञ्चालन निर्देशिका तथा पाठ्यक्रम, पुष्पलाल छानिएका रचना भाग एक (दोश्रो संस्करण), तुलसीप्रसाद श्रेष्ठ कृति र स्मृति जस्ता दर्जनौँ बढी पार्टीका केन्द्रीय दस्ताबेजहरुकोे सम्पादन समेत गरेका छन् ।

करिब २ दशकदेखि पार्टीको केन्द्रीय नेतृत्वमा रहेर पार्टीलाई राजनैतिक, वैचारिक र सैद्धान्तिक मार्गमा हिडाउन अहम भूमिका निर्वाह गरिरहेका डा. भुसालले हप्तामा दुई पटक ‘दर्शन–दिग्दर्शन’ विषयमा आफ्नो ज्ञान अनुभव परिवर्तन खबर डट कम र परिवर्तन टिभी मार्फत प्रस्तुत गर्नेछन् ।

हाम्रो यो पहिलो प्रयासमा दर्शक र पाठकहरुको सुझाव अनुसार कार्यक्रमलाई परिमार्जित र परिस्कृत गर्दै अगाडि बढाउन समेत प्रतिबद्ध रहेको जानकारी गराउँदछौं ।

यो पनि पढ्नुहोस् :

नेताहरु पढ्दैनन् भन्ने आरोप चिर्न पिएचडी गरेको हुँ : डा. बेदुराम भुसाल

प्रतिक्रिया दिनुहोस्