शुक्रराज अस्पतालमा डेंगी परीक्षण गराउनेको भिड,सार्वजनिक विदामा पनि ओपिडी सेवा



२७ भदौ २०७६, काठमाडौं

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी परीक्षण गराउन आउनेको संख्यामा कमी नभएपछि आज सार्वजनिक विदाको दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, भोलि (शनिबार) पनि नियमित रुपमा सञ्चालन हुने अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बताएको हो।

उक्त, अस्पतालमा हाल ज्वरोको बिरामी ८ सय बढी आउने गरेका छन्। तीमध्ये ६ सय बढीलाई डेंगी परीक्षण गराईने गरेको छ।

खतिवडाका अनुसार, ‘बिरामीको संख्या नघटेपश्चात इन्द्रजात्राको आजको विदा र शनिबार भोलिको विदामा पनि ओपिडी बन्द नगर्ने निर्णय गरेका हौँ। यसमा ओपिडी मात्रै होइन ल्याव तथा सबै सेवा नियमित रुपमा सञ्चालन हुन्छन्।’

अस्पतालमा डेंगीको बिरामीको चाप बढ्न थालेपछि क्यास काउन्टरको दुईबाट बढाएर चार पुर्याेएको छ। डेंगी परीक्षणकै सहजताका लागि भनेर अस्पतालले ओपिडी बाहेक दुईवटा फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ।
यस्तै, एउटा मात्रै कुटलर मेसिन भएको ल्यावमा बिहीबारबाट अर्को पनि मेसिन थपिएको छ ।

स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले केही दिन अघि डेंगीको परीक्षण निशुल्क गर्ने घोषणा गरेतापनि सो अहिलेसम्म उक्त निर्देशन कार्यान्वयनमा हुन सकेको छैन। अस्पतालका अनुसार, अहिलेकै अवस्थामा डेंगी परीक्षण निःशुल्क हुन नसक्ने स्पष्ट पारेको छन्।

‘अहिले पनि हामीले डेंगी परीक्षण गराउनेसंग किटको ५ सय रुपैयाँ लिने गरेका छौँ त्यसबाहेक रगतका अरु परीक्षण पनि गर्नुपर्ने हुन्छ। त्यसको पनि पैसा लिने गरेका छौँ। त्यसैले डेंगी संक्रमित एउटा विरामीले औषत १ हजार ५ सय बढी पैसा तिर्नुपर्ने हुन्छ । दैनिक ८ सय बढी विरामी आउने अस्पतालमा निशुल्क गर्न सम्भव छैन। हामीले मन्त्री ज्यूलाई समेत स्पष्ट पारिसकेका छौँ,’ खतिवडाले अगाडी थपे, ‘तर भर्ना भएका बिरामीको भने बेडचार्ज निशुल्क नै गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्