
२६ भदौ २०७६, काठमाडौं
विभिन्न देशमा फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रुपमा देखिएको छ। एक साताभित्र भक्तपुरमा ९९ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको हो।
भक्तपुरमा वुधबार बिहानसम्मा ९९ जना बिरामीमा डेंगु रोग रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए।
यो रोगको संक्रमण विभिन्न टोल, गल्ली र विद्यालयहरु डेंगुको जोखिम रहेको न्यौपानेले बताए।
उनका अनुसार, टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहोरहरु नराख्ने कार्य गर्नुपर्ने बताए।
त्यस्तै, भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगु रोग भएको बताए।





