नेपालमा १ अर्ब बराबरको सामाजिक कार्य गर्दै रोटरी डिस्ट्रिक्ट ३२९२



२३ भदौ २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले रोटरी वर्ष २०१९/२० मा करिब १ अर्ब बराबरको सामाजिक कार्य गर्ने भएको छ ।

सन् २०३० सम्ममा नेपाललाई साक्षर बनाउने अभियान अन्तर्गत सो घोषणा गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी गराएका छन् । रोटरी क्लब अफ काठमाडौंको स्थापनासँगै नेपालमा सामाजिक क्षेत्रमा रोटरी क्रियाशील हुंदै आएकार यसले शिक्षा, स्वास्थ्य, सरसफाई, मानवीय उद्धार, महिला सशक्तिकरण लगायतका क्षेत्रमा सामाजिक–आर्थिक रूपान्तरणका लागि काम गर्दै आएको समेत उनले प्रष्ट्याए ।

रोटरीले काठमाडौंको जोरपाटीमा नेपालकै पहिलो नेपाल अर्थोपेडिक अस्पतालको स्थापना तथा त्यसका लागि आवश्यक सम्पूर्ण उपकरणहरू, वीर अस्पतालको आइसियू भवनको निर्माण तथा नेपालमै पहिलो पटक भेन्टिलेटर सेवाको सुरूवात एवं सञ्चालन, भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण उपकरणहरू, गंगालाल हृदय रोग केन्द्रमा रहेको आइसियू तथा कार्डियाक एक्सरे इमेज ल्याब, विराटनगरस्थित कोशी अंचल अस्पतालमा आइसियू तथा इन्सिनेरेटर, बनेपाको शीर मेमोरियल अस्पतालमा इन्सिनेरेटर, बुटवलस्थित गौतम बुद्ध सामुदायीक हृदय रोग अस्पतालको अत्याधुनिक भवन निर्माण तथा संपूर्ण उपकरणहरूलगायत ललितपुर पाटनमा ब्लड बैंक र हृदय रोग विशिष्टिकृत केन्द्र एवं काठमाडौंको नेशनल डेन्टल अस्पताललाई उपकरण प्रदान पनि रोटरीले गरेको पूर्व डिस्ट्रिक्ट गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तिर्थमान शाक्यले जानकारी दिए ।

रोटरीको अनदान सहयोगमा वीर अस्पतालमा पहिलो फाइब्रो स्क्यान मेसिन जडान गरी कम खर्चमा कलेजोसम्बन्धी रोग निदान गर्न सहयोग पुर्याएको छ भने मणीहर्ष डायग्नोस्टिक सेन्टरमा ५१२ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान, स्वास्थ्य क्षेत्रमा बहुआयामिक सेवा पुर्याउने संकल्पअनुरूप बिगत दुई दशकदेखि हेटौंडा सामुदायिक अस्पतालमा आँखा जचाउने विरामीहरूलाई इन्ट्रा ओकुलर लेन्स निःशुल्क वितरण, पोखरास्थित भरतपोखरीमा १ लाख २० हजार लिटरको खानेपानी ट्यांकीको निर्माण गरी सो गाउँलाई पिउने पानीमा आत्मनिर्भर बनाउनुका साथ देवघाटमा करुणालय वृद्धाश्रमको सञ्चालन, भुकम्प पीडितका लागि सिन्धुपाल्चोकको माझी गाउ‘मा ४६ वटा घर, ललितपुरको चापागाउँ बरम्चुलीमा ४९ वटा घर तथा काभ्रेमा ६९ वटा घर निर्माणसंगै २५ वटा विद्यालयसंग भुकम्पप्रतिरोधी विद्यालय निर्माणको सम्झौता भई सुचारू रुपमा निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्