रुघाखोकीको बारेमा जान्नुहोस्ः अपनाउनुहोस् यस्तो सतर्कता



२२ भदौ २०७६, काठमाडौं

दिन–प्रतिदिन झरीको याम पनि उस्तै। ओसिलो मौसमसँगै यतिबेला संक्रमित रोगहरुको भय हुने नै भयो।

कारणः मौसम परिवर्तन हुने समय पनि हो।

यस्तो समयमा मानिसमा विभिन्न स्वास्थ्य समस्यहरु उत्पन्न हुन्छ।

विशेषगरी बालबालिका, रोगी, बृद्धबुद्धा अर्थात कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई स–साना समस्याले दुःख दिन दिईरहेको हुन्छ।

त्यसैले परिवर्तित मौसमसँगै सजग रहन चिकित्सकहरुको सुझाव छ।

यो मौसममा सताउने मध्ये रुघा–खोकी पनि एक हो।

यो त्यती गम्भिर समस्या त होइन, तै पनि यो रोगले निकै दुःख भने गर्दछ।

त्यसैले, रुघा कसरी लाग्छ, रुघा लागेमा के हुन्छ, यसबाट कसरी बच्ने भन्ने कुरामा केही कुराहरु जान्नुहोस्ः

रुघाखोकीको समस्याः

हामी सबैलाई थाहा भएकै कुरा हो, रुघा लागेपछि नाकबाट पातलो सिंगान जस्तो पानी बगिरहन्छ।

सामान्य ज्वरो आउने हुन्छ। जसले स–साना बालबालिकादेखि लिएर बृद्धबृद्धालाई निकै सताउने गर्दछ।

जब रुघा र ज्वरोले सताउन थाल्छ, हिँडडुल गर्न, काम गर्न निकै गाह्रो हुन्छ।

चिकित्सकहरुका अनुसार, सामान्यः रुघाखोकी राइनो भाइरसको संक्रमणले हुने गर्दछ।

प्रायः जसो जुन रोगको संक्रमण एक हप्तामा आफै निको हुन्छ। सामान्य भाइरसको संक्रमणले हुने समस्या भएकाले एन्टिबायोटिक खाइहाल्नुपर्ने अवस्था हुँदैन।

यद्यपि कहिले–काहीँ के हुन्छ भने, मानिसको उमेर, शारीरिक अवस्था, रोगसँग लड्ने क्षमता आदिको कारणले उक्त भाइरसको संक्रमण पछि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुने संभावना रहन्छ।

जुन अवस्थामा एन्टिबायोटिक दिनुपर्ने चिकित्सकहरुको भनाई छ।

रुघाखोकी देखन्छ यस्तो लक्षणः

रुघाखोकीको बिषयमा हामी त्यती अनभिज्ञ छैनौं ।

रुघा लाग्दा खोकी र नाकबाट पानी बग्ने हुन्छ।

समय–समयमा छाती, टाउको र शरिर पनि दुख्ने हुन्छ।

स–साना बालबालिकाहरुमा यसको असर बढी मात्रामा हुने र उनीहरुलाई पेट पनि दुख्ने हुन्छ।

वान्ता हुने, पखला लाग्ने पनि हुन्छ।

अब के गर्ने त ?

रुघाखोकी एकबाट अर्काेमा सर्ने रोग हो।

यसले पुरै परिवार नै बिरामी पर्दछन्।

त्यसैले, रुघा लागेपछि एक–अर्काको सोझो सम्पर्कमा रहनु हुँदैन। सरसफाई र आराममा बढी मात्रामा ध्यान दिनुपर्दछ।

रुघाखोकीकै कारण बढी मात्रामा ज्वरो आएमा प्यारासिटामोल दिनु उपयुक्त मानिन्छ।

सामान्यः बालबालिकाहरुमा दिनमा २/३ पटक भन्दा बढी पातलो दिसा लागेमा उनीहरुलाई झोलिलो तथा पोषिलो खानेकुरा दिनुपर्छ।

रुघाखोकीका कारण बालबालिकाहरुलाई श्वसप्रश्वासमा समस्या आउनका साथै सास फेर्न निकै गाह्रो हुन्छ।

यदि यस्तो भएको नुन पानीको थोपा नाकभित्र राख्नुहोस्। नरम सुतीको कपडाले नाक पुछिदिनुहोस्।

यसैगरी तातो पानीमा नुन, बेसार, ज्वानो, तुलसीको पात, जिरा र अदुवा राम्रोसँग उमालेर मनतातो भएपछि उक्त पानीमा केही मात्रा कागतीको रस राख्नुहोस्।

उक्त रस दिनमा ३ /४ पटकसम्म सेवन गर्दा रोगबाट चाडै मुक्त पाउन सकिन्छ।

रुघा लागिसकेपछि:

शुद्धिकरण गरेको पानी प्रशस्ता मात्रामा पिउनुहोस्।

मानिसको भिडभाडमा जानु परेको खण्डमा माक्सको प्रयोग गर्नुहोस्।

सरसफाईमा ध्यान दिनुहोस्। फोहोर बस्तु छोएपछि, दिसा–पिसाब गरेपछि, बालबालिकाहरुलाई दिसा–पिसाब गराएपछि साबुन पानीले राम्रोसँग हात पखाल्नुहोस्।

घरेलु उपचारः

तुलसीः

तुलसी रुघाखोकीको लागि निकै राम्रो मानिन्छ।

तुलसीको ४ /५ पत्ता तुलसी चपाउनाले घाँटीको खस–खस र खोकीबाट राहत मिल्छ।

तपाई यसलाई चिया अर्थात तातोपानीमा उमालेर पनि पिउनुहोस्।

बेसार:

रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् ।

अदुवा:

अदुवाको रस महमा मिसाएर खाएमा खोकी टाढा भाग्छ।

राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस्।

जसले तपाईको स्वास्थ्यमा छिटै सुधार आउँछ।

अलैंची:

अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ।

यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाउन सकिन्छ।

हर्बल चियाः

टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस्।

जसले शरिरलाई गरम राख्छ र रोगबाट बचाँउछ।

नोटः रुघाखोकी लागेको खण्डमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्