
१७ भदौ २०७६, काठमाडौं
उपचारको क्रममा बिरामी मृत्युपश्चात आक्रोशित भिडले आक्रमण गर्दा एक डाक्टरको ज्यान गएको छ।
गत शनिबार भारतको असमको जोरहटस्थित चियाबगानसंगै रहेको टि स्टेट अस्पतालमा कार्यरत ७३ बर्षीय डाक्टर देवेन दत्ताको ज्यान गएको हो।
चिया बगानमा कार्यरत ३२ बर्षीय सोमरा माझीको उपचारका क्रममा मृत्युभएपछि आक्रोशित भिडले डाक्टर दत्तामाथि आक्रमण गरेको थियो।
आक्रमणमा उत्रिनु अघि उनीहरुले भिडले डा. दत्ता माथि उपचारमा गरेको आरोप लगाएका थिए।
शुरुमा डाक्टर विरुद्ध नाराबाजी गरेको थियो तर एकै छिनमा सो भिडले हातपात गर्न थाल्यो। डाक्टरमाथि शिशा प्रहार गर्न थालेका हुन्।
टाँउकोमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएका राज्य पुलिस अधिकारीले जानकारी दिए।
के भएको थियो?
बिरामीलाई अस्पतालमा ल्याएको बेला डा.दत्ता दिउँसो खाना अस्पतालभन्दा केही पर गएका थिए।
बिरामी आएको खबर पाएलगात्तै उनले आफ्ना दुई असिस्टेन्टलाई उपचार शुरु गर्दै गर्न निर्देशन पनि दिएका थिए।
उनले उक्त विरामीलाई नाम तोकेर इन्जेक्सन दिन समेत अह्राएका थिए।
डा. दत्ता खाना खाएर अस्पताल आई उपचार शुरु गर्दा नगर्दै माझीको ज्यान गएको हो।
‘एकै छिनमा भिड जम्मा भयो, डाक्टर दत्ताको ढिलाईले ज्यान गएको हो भन्ने हल्ला चलाईएछ र उनीमाथि भौतिक आक्रमण भएछ,’ जोरहट प्रहरी चौकीका इन्चार्ज निम्वाल्कर भैवह चन्द्रकान्तले भने, ‘हामीले उद्धार गरी थप उपचारका लागि जोरहट अस्पतालमा लैजादै थियौँ तर बाटोमै ज्यान गयो। उनको टाउको र खुट्टामा गम्भीर चोट थियो ।’
उक्त घटनापश्चात प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको छ।
यता असम प्रहरी प्रमुख कुलाधर सैकियाले थप अनुसन्धान तथा कारवाहीका लागि इन्सपेक्टरको नेतृत्वमा एक टोली जोर्हाट पठाएका छन् ।





