
१६ भदौ २०७६, काठमाडौं
आज हरितालिका तीज। आजको दिन हिन्दु नेपाली नारीहरुले निराहार व्रत बस्ने तथा मिठो मसिनो खाने गर्दछन्।
तीजको अवसरमा देशभरका शिवालय मन्दिरहरुमा हिन्दु धर्मावलम्बी महिलाहरुको घुइँचो लाग्ने गर्दछ। आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दु नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन्।
किंंवदन्ती अनुसार पार्वतीले शिवजीलाई पति पाउँ भन्दै व्रत बसेको सम्झनामा आज हिन्दु नारीहरु व्रत बस्ने गर्दछन्। विवाहित नारीहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु एवं पारिवारिक सुख समृद्धिको कामनाका साथ व्रत बस्दछन् भने अविवाहितहरु भने योग्य वर पाउँ भन्दै व्रत बस्ने मान्यता छ।
आज मुलुकभरका शिवालयहरुमा महिलाहरुले नाजगान, भजन कीर्तन गर्दै उमंगका साथ भगवान शिवको प्रार्थना, पूजा गर्ने गर्दछन्। झनै, राजधानीस्थित पशुपतिनाथको मन्दिर परिसर त रातो वस्त्र पहिरिएका महिलाहरुका कारण राताम्य देखिन्छ।
अर्कातर्फ नेपाली समाजमा तीज पर्वका अवसरमा गाइने गीतमा नारीहरुका व्यथा, परिवारमा पाएका दुःख र माइती तथा घरको सम्बन्धको बारेमा चित्रण पाइन्छ। तर, यसमा पछिल्लो समय केही विकृति आएको र तीजको गीतहरु भड्किलो बन्दै गएको भन्ने गुनासो पनि आउने गरेको छ।
यस्तै तीजको दर खाने परम्पराको आधुनिकीकरणका नाममा केही हप्ता पहिलैदेखि भड्किलो रुपमा दर खाने प्रचलन हुन थालेको भन्दै संस्कृतिविद्हरुले त्यस्ता गतिविधिप्रति चिन्ता प्रकट गर्दै पनि आएका छन्।
आजको दिन हिन्दू नारीहरुले आफ्नो सौभाग्य, परिवारको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ।
यद्यपी विज्ञहरुले भने व्रत बस्दा आफ्नो स्वास्थ्य, शारीरिक तन्दुरुस्तीलाई पनि ध्यान दिन सुझाव दिएका छन्।
सबै नारीहरुमा शुभकामना!!





