
०२ भदौ २०७६, काठमाडौँ
सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चले तत्काल पक्राउ गर्ने कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।
चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध जहेरी दिएकी थिइन् । शिल्पाले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी थिइन् ।
यही निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इजलासले शिल्पालाई पक्राउ नगर्न आदेश दिएको हो । आइतबार यस विषयमा छलफल गर्नको लागि अदालतले दुवै पक्षलाई भदौ १५ गते बोलाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले डिसीनेपाललाई जानकारी दिएका छन् । त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्ने छ ।





