चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती



३२ साउन २०७६, काठमाडौं

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्।

ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ।

ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन। केही स्थानीयले घर नभत्काउँदा काम अघि बढ्न सकेको छैन।

समयमा ठेकेदारले काम नगर्दा धुलोबाट सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। सतुंगलमा पनि सडकको पिच उप्केको छ। त्यहाँ उड्ने धुलोले पनि यात्रु र स्थानीय आक्रान्त छन्।

चन्द्रगिरि नगरपालिका, वडा कार्यालय, सडक विभागलगायत निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ भने त्यहाँकै स्थानीयले घर नभत्काएकाले सडक निर्माण हुन नसकेको बताउँछन्।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्