सोलुखुम्बुको थुलुङ दुधकोशीमा सिभिल इञ्जिनियरिङ कक्षा



२१ साउन २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ।

यही शैक्षिक सत्रबाट गाउँपालिका केन्द्र मुक्लीमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुने भएको हो।

कक्षा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्द्बाट अनुमति लिएर गाउँपालिकाले सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा गत २८ अषाढमा बसेको मन्त्री परिषद्को बैठकले गाउँपालिकामा ४८ जनाको लागि ‘डिप्लोमा इन सिभिल इञ्जिनियरिङ’ कक्षा सञ्चालन गर्नका लागि स्वीकृत दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार भर्ना प्रक्रियाका लागि परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी पूर्व सम्झौता गर्न परिषद्ले गाउँपालिकालाई पत्र पठाएको थियो। परिषद्का उपनिर्देशक उमेश कुमार मिश्रद्धारा हस्ताक्षरित चलानी नम्बर १८२ को पत्र आइतबार गाउँपालिकामा प्राप्त भएको थियो।

‘यो समयमा वैज्ञानिक र व्यवहारिक शिक्षाको धेरै महत्व छ। त्यसैले हामीले यसमा जोड दिएका हौं। यो हुनु हाम्रो लागि ठूलो सफलता हो।’ गाउँपालिका अध्यक्ष असिम राईले भने।


गाउँपालिका केन्द्र मुक्लीमा कक्षा सञ्चालन गर्ने गरी गाउँसभाबाट चालू आवमा खर्च हुनेगरि ५० लाख बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय हर्षितः

गाउँपालिका केन्द्र मुक्लीमा इञ्जिनियरिङ कक्षा सञ्चालन हुने भएपछि गाउँपालिकावासीहरु हर्षित भएका छन्।

एसईईपछि इञ्जिनियरिङ पढ्नको लागि विभिन्न शहरहरुमा जानुपर्ने बाध्यता हटेपछि उनीहरु हर्षित बनेका हुन् ।

जिल्लामै पहिलो पटक सञ्चालन भएको कक्षाबाट आफूहरु धेरै खुसी भएको स्थानीयहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्