तँ भनियोस् वा तपाईँः ‘साथी’ हृदयको ऐना 



१९ साउन २०७६, काठमाडौं

साथीहरु जहाँ पनि जहिले पनि बनिहाल्छन्।

बाटो हिँड्दा, बसमा यात्रा गर्दा, प्लेनमा यात्रा गर्दा, फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, भाइबरमा, इमोमा, ह्वाट्सएपमा, स्कुल पढ्दा, कलेज पढ्दा, अफिसमा, प्रतीक्षालयमा जताजतै…

जीवनमा साथी नहुँदा पनि ठिकै हुन्छ। तर फेरि नहुँदा पनि हुँदैन। साथीले बिरामी हुँदा आएर ओखतीमूलो गरिदिने होइन। दुःखमा पर्दा एकदुई पैसा हातमा थमाइदिने होइन। यो अर्थमा साथी नहुँदा पनि ठिकै छ।

तर, तर बिनासाथीको जीवन वास्तवमा कल्पना गर्न लायक पनि हुँदैन।

यदाकदा साथीहरू धेरै प्रवृत्तिका पाइन्छन्, कोही धेरै टाढा क्षितिजपारि हुँदा पनि सधैँजसो सम्झिरहन्छन्। कोही यतै कतै यायावरजस्तो घुमिरहँदा पनि नदेखेजस्तो गरेर हिँड्छन्।

‘साथी’ जसको साथ थोरै भएपनि सम्झना भने सधैँ धेरै हुन्छ। तँ भनियोस् वा तपाईँ भनियोस् साथी भनेको हृदयको ऐना हो। तिमी भनियोस् वा हजुर भनियोस् साथी भनेको सम्झनाको तरेली हो।

साथी सधैँ नामी, व्यापक अनि विश्वव्यापी हुन्छ।

साथी स्वतन्त्र अनि अरु सम्बन्ध र नाताभन्दा छुट्टैछ। केटा होस् चाहे केटी, एउटै चाल चलन अनि उस्तै उमेर भएकाहरू साथी कहलिन्छन्।

धेरैले भन्छन्, साथीसाथीमा तिमी अथवा तँ सुहाउँछ। कसैको बोलीले कसैलाई ठेलिएको महसुस हुन सक्ला। कसैको बोली अर्कोलाई नराम्रो हुन सक्ला । एउटा मान्छेको आनिबानी, व्यवहार अर्कोलाई नराम्रो लाग्न सक्छ। तर, भावना सँधैं साथीत्वकै हुन्छ।

कोही ‘दोस्त’ भन्न रुचाउँछन्। कोही ‘मित्र’ भन्न रचाउँछन्। तर कसैकसैले ‘दोस्त’ होस् वा ‘मित्र’ कुनैपनि ट्याग मन पराउँदैनन्। आवश्यक ठाउँमा सही ढङ्गले प्रयोग गरे ‘साथी’, ‘दोस्त’, ‘मित्र’ जे भएपनि बलवान् र अतुलनीय छन्।

साथीत्वको भावनामा प्रविधिको खेलः

साथीत्वको भावनामाथि प्रविधिले केही हदसम्म गाह्रो बनाएको छ।

‘मित्रता कायम राख्न भेट्‌नैपर्छ भन्ने छैन। मेसेज वा इमेल पठाएर, च्याट गरेर वा त्यस्तै अन्य तरिकामा साथीहरूसित सम्पर्कमा रहिरहन सकिन्छ’, भन्ने भान प्रविधिले पारेको छ।

आजभोलिका मानिसहरु साथीहरूसँगै बसेर कुराकानी गर्नुको सट्टा मेसेज र ट्वीट गर्न रुचाउँछन्‌।

सँगैं बसेर आत्ममोह साट्ने, सामीप्यता साटासाट गर्ने क्रियाकलापबाट आजभोलिका मानिसहरु टाढा गएको जस्तो देखिन्छ।

एउटा साथीको साथले कति फरक पार्दछ, जिउनुमाः

यो गीत स्वरसम्राट नारायण गोपालले धेरै पहिले गाएका कालजयी गीत हो।

यो गीतभन्दा अघि र पछि पनि कत्ति गीतहरु साथीकै निम्ति गाइए, कत्ति चर्चित बने। कत्ति कालजयी बने।

लुकामारी खेल्दा ढ्याप्प ढाँड हानिएका साथीहरुदेखी स्कुलबाट भागेर चलचित्र हेर्न गएकाहरु सम्म, लूगा साटासाट गरेकाहरुदेखी उत्तरपुस्तिका साटेका पढन्ते दोस्तहरुसम्म, जीवनका एकपछि अर्को कालखण्ड गर्दै बूढ्यौलीमा सँगैं जाडिन आइपुग्छन्।

बूढा, तरुना, बच्चा लगायत हरेक उमेर समूहका हरेकसँग मित्रता हुन सक्दछ।

तर एउटा राम्रो साथीको साथले पनि धेरै जीवनमा धेरै राम्रो परिवर्तन गराउन सक्छ। कोही साथी नराम्रो नियतको पनि हुन सक्छ। कोही राम्रो सोच्ने पनि हुन सक्छ।

तर, साथीको साथ भने एउटा बाँचेको स्वरुपको लागि आवश्यक तत्व नै हो।

मित्रताको अर्थ:

साथी अर्थात मित्र राम्रा अनि नराम्रा दुवै खाले हुन्छन्।

सही साथीले राम्रो बाटो देखाउलान् नराम्रो साथीले गलत बाटो हिँडाउलान्। तर, साथी भनेका सबै साथी नै हुन्।

तर, हामीले साथी बनाउँदा सावधानी अपनाउनु भने आवश्यक कुरा नै हो। नराम्रो साथीका साथ हाम्रो लागि नकारात्मक पक्ष सावित हुन सक्छ। नराम्रो साथीका कारण हाम्रो जीवन पूर्ण रुपमा बर्बाद हुन सक्छ।

हामीलाई हाम्रो भावना बाँड्नका लागि पनि कुनै साथीको साथको आवश्यक पर्दछ।

आफ्ना मनका हरेक कुरा शेयर गर्नका लागि कोही विशेष हुनुपर्छ। आफ्नो एक्लोपना टाढा गर्न, कसैलाई दुःख कम गरेर हसाउँनका लागि पनि साथीकै आवश्यक्ता पर्दछ,

साथीको साथले जीवनमा आइपरेका अप्ठ्यारा अनि कठिन कामहरु सजिलै गर्न सकिन्छ।

अन्तराष्ट्रिय मित्रता दिवसको सबैमा शुभकामना…

प्रतिक्रिया दिनुहोस्