
१९ साउन २०७६, काठमाडौं
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ७ को नाजिङमा सुविधा सम्पन्न सामुदायिक अस्पताल बनाउन १२ रोपनी जग्गा दान गरिएको छ ।
१६ लाख रुपैयाँमा खरिद गरी सोलु हेल्थ केयर सेन्टरले सोलु कम्यूनिटी अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेको अस्पताल निर्माणका अभियान्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
अनुमानित लागत करिब १५ करोडमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधी सहित विषेशज्ञस्तरीय सेवा दिने डा. बस्नेतले बताए ।
डा बस्नेतका अनुसार अस्पतालको नाममा जग्गा भएपछि औपचारिक रुपमा अस्पताल निर्माणको काम सुरु भएको छ, यसमा डा बस्नेत आफै र सोलुखुम्बुको नेचासल्यान १ का डा. योगेन्द्र बस्नेत र डा. एलिना श्रेष्ठले उपचार सेवामा काम गर्ने प्रतिद्धता गरेको बताए ।
आर्थिक स्रोत जुटाउने काम मुख्य चुनौती भएको भन्दै सहयोग व्यत्ति, संस्था तथा दातृ निकायसँग समन्वय गरेर काम अगाडी बढाउने उनले बताए । अस्पताल पूर्ण सेवामूलक हुने उनको भनाइ छ ।
सामूदायिक अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । स्थानीय भलाकाजी कार्कीका अनुसार अस्पताल बनेपछि उपचारमा टाढा जानुपर्ने समस्या हट्ने छ ।
सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछापलगायतका जिल्लाका बिरामीलाई समेत सहज, गुणस्तरीय र विरामीमुखी स्वास्थ्य उपचार गर्नका लागि दुर्गममा सामुदायिक अस्पताल निर्माण गर्न लागिएको उनको भनाइ छ ।





