हिन्दुहरुको पवित्र महिना ‘श्रावण’



१७ साउन २०७६, काठमाडौं/एन्जिला राना मगर

प्रकृतिमा हरियाली र मनसुनसँगै श्रावण महिना सुरु भइसकेको छ । हिन्दु धर्मालम्वीहरुको पवित्र महिना श्रावणमा विशेष रुपमा भगवान शिवको पुजा गरिन्छ । हरेक वर्ष जस्तै यस बर्ष पनि नेपाली समाजमा हरियाली छाएको छ । देशभरीका महिलाहरु हरिया चुरा, पोते, हरिया पहिरन र हात भरि मेहन्दी लगाएर सोमबारको ब्रत बस्न सुरु भइसकेको छ ।

हिन्दु परम्परा अनुसार यस महिनालाई शिव भगवानको प्रिय महिनाको रुपमा मानिन्छ । यस महिनामा शिव मन्दिरहरुमा दर्शन गर्ने भत्तजनहरुको अधिक मात्रामा भिड लागेको देखिन्छ । शिव भगवान्को पूजा विधि पुर्याएर गर्नाले निकै फलदायी हुने कुराको मान्यता रहेको छ ।

यस महिनामा हरेक जात, वर्ग तथा लिङ्गका मानिसहरु हरेक सोमबार भगवान् शिवको पूजा गर्न जान्छन् ।

यस महिनामा देवी पार्वतीले तपस्या गरी भगवान् शिवलाई बरको रुपमा पाएको कुरा शास्त्रमा लेखिएको छ । त्यसकारण महिलाहरुले श्रावण महिनालाई विशेष रुपमा मनाउने गर्दछन् । विवाहित तथा अविवाहित दुवै महिलाहरु श्रावण महिनाको चारओटै सोमबारे ब्रत बस्छन् । विवाहित महिलाहरु राम्रो स्वास्थ्य परिवार र पतिको समृद्धिका लागि ब्रत बस्छन् भने अविवाहित महिलाहरु इच्छा अनुसार वर पाउने विश्वासका साथ ब्रत बस्छन् । श्रावण महिनाको विभिन्न मान्यताहरु रहँदै आएका छन् । जस्तैः श्रावण महिनामा मन्दिरमा बली चढाउन नहुने, सर्पहरु मार्न नहुने, महिनाभरि ब्रत बस्दा माछा मासु, अण्डा, प्याज, लसुन आदि खान नहुने कुराहरु रहेको छ ।

पौराणिक कथा अनुसार श्रावण महिनामा समुन्द्र मन्थनको समय उत्पादन भएको हलाहल बिषले गर्दा धर्तीमा हाहाकार मच्चिएपछि त्यसबाट मानव तथा प्राणीलाई बचाउन भगवान् शिवले बिषलाई पिई आफ्नो कण्ठमा राखेका थिए । जसलाई नीलकण्ठ भनिन्छ । त्यो बिषले शिव भगवान्को तापक्रम बढेपछि शान्त गर्न ब्रम्हा लगायतको सम्पूर्ण देवताहरुले गंगाजल चढाएका थिए । जसले गर्दा शिव शान्त भएको कुरा शास्त्रमा रहेको छ । यस महिनामा शिव भगवान्ले धर्तीलाई बचाएका हुनाले मानव जातिले खुशी भएर भगवान् शिवलाई पूजा गर्छन् । भगवान् शिवलाई प्रसन्न बनाउन शिव भक्तहरु महिनाभरि ब्रत बसी पूजापाठ गर्दछन् । जल, दुध, बेलपत्र भाङ धतुरो दुवो आदि भगवान् शिवलाई चढाउँदा खुशी हुने कुराहरु रहेको छ ।

नेपाली समाजमा श्रावण महिनाको महत्व धेरै पाइन्छ । परम्पराअनुसार यस महिनाको १ गते आफ्नो परिवार र आफन्तहरु मिलेर साउने संक्रान्ति मनाउने चलन छ । त्यही दिनको साँझमा समुदायका मानिसहर मिलेर लुतो फाल्ने चलन पनि छ । साथै श्रावण १५ मा खिर खाने परम्परा रहिआएको छ भने, तुलसी लगायत सयपत्रीको विरुवाहरु रोप्ने प्रचलन रहेको हुनाले प्रकृतिप्रेमी महिनाको रुपमा सावित छन् ।

प्रतिक्रिया दिनुहोस्