साहित्यिक पत्रिका बिहानीको विमोचनमा पूर्वप्रधानमन्त्री चन्द सहित आधा दर्जन नेपाली साहित्यकारहरु सम्मानित



१४ साउन २०७६, काठमाडौं

नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु जयन्ती समारोहमा आइतबार आयोजना गरेको २० औं साहित्यिक पत्रिका बिहानीको विमोचनमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द सहित आधा दर्जन नेपाली साहित्यकारलाई सम्मान गरेको छ ।

सम्मान पश्चात पूर्वप्रधानमन्त्री चन्दले भानुभक्तको साहित्यिक योगदानका बारे चर्चा गरेका थिए । चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषा साहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताए । भानुका कारण नेपाली बिचको सद्भावना र भातृत्व बढेको बताउँदै कलकत्तावासीले नेपालीपन बचाएर राखेकोमा उनले धन्यवाद ज्ञापन गरेका
थिए ।

‘आदिकवि भानुभक्त आचार्य र उनको कवित्व’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै  नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले ‘भानुको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूूत्रमा बाँध्ने काम गरेको बताए । साथै उनले भानुभक्तको लेखनमा दार्शनिक चेतना र भक्तिधारा पर्याप्त रहेको जानकारी गराए ।

पूर्वप्रधानमन्त्री चन्द, प्राज्ञद्वय पौडेल र नेपाल, साहित्यकारहरू धर्मराज बराल र डीपी अर्यालका साथै सञ्चार एवं साहित्यकर्मी श्याम रिमाल र गोपीकृष्ण ढुङ्गानालाई सम्मान गरिएको समारोहमा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख डा. देवी नेपालले कलकत्तामा बस्ने नेपाली साहित्यकारलाई सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण समेत दिएकी थिईन् ।

समारोहमा डा. सत्यप्रकाश तिवारी, नारायणप्रसाद होमागाई, सहदेव कोइराला, गोपीकृष्ण ढुङ्गाना, सरोजिनी सिंह, देवी नेपाल, टिकाराम भित्रिकोटी, श्याम रिमाल, पुष्प पराजुली, आशा उपाध्यायलगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्