बंगलादेश नेपालमा जलविद्युत उत्पादनमा १ खर्बसम्म लगानी गर्न चाहन्छ : राजदुत मासफी बिन्टे शाम्स



३१ असार २०७६, काठमाडौं

केही समयअघि नेपाल सरकार र बंगलादेश सरकारबीच उर्जा आदान–प्रदान सम्बन्धी समझदारी भएको थियो । नेपालबाट उत्पादित बिजुली भारत बाहेक तेस्रो मुलुकमा बेच्ने नेपालको पहिलो प्रयास हो । विद्युत उर्जा सम्बन्धी समझदारी पछि दुई देशले गरेका तयारी, त्यसको कार्यान्वयन पाटो र समसामयिक विषयमा परिवर्तन खबर टीमले नेपालको लागि बंगलादेशी राजदुत मासफी बिन्टे शाम्ससँग गरेको प्रत्यक्ष कुराकानी :

महामहिम ज्यू, कुटनीतिक कार्यक्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

बंगलादेश सिभिल सर्भिस मार्फत् बंगलादेशमा बंगलादेश सिभिल सर्भिस परीक्षा हरेक वर्ष हुने गर्दछ । जसको माध्यमबाट विभिन्न चार्टसमा सहभागी भएका उतीर्ण

परीक्षार्थीहरुले आफूले प्राप्त गरेको नतिजा अनुसार आफ्नो ईच्छा लागेको क्षेत्रमा काम गर्न पाउँछन् । सो अनुसार मैले बंगलादेश सिभिल सर्भिस फरेन अफियर्स मेरो रोजाईमा पर्याे ।

महामहिमको रुपमा यहाँले नेपाल र बंगलादेश बीचको द्विपक्षीय सम्बन्धलाई कसरी हेर्नु भएको छ ?

नेपाल र बंगलादेश बीचको द्विपक्षीय सम्बन्ध एकदमै राम्रो छ । यी दुई देश बीचको मैत्री सम्बन्ध शताब्दी देखि नै ऐतिहासिक सम्बन्धको रुपमा विकास हुदैं आएको छ । नेपालले बंगलादेशको सन् १९७१ को क्रान्तिपछि पहिलोपटक अन्तर्राष्ट्रिय रुपमा बंगलादेशलाई नेपालले मान्यता दिएको थियो । त्यो बेलादेखि नै नेपाल र बंगलादेश बीचको सम्बन्ध घनिभुत हुँदै आएको छ ।

नेपाल र बंगलादेश बीच हालै विघुत व्यापार सम्भावना सम्झौता पत्रमा हस्ताक्षर भएको छ, यस सम्बन्धमा भन्नु पर्दा विद्युत साझेदारी सम्झौताबारे बंगलादेशको अर्को कदम के हुनेछ ?

वास्तवमा भन्नु पर्दा यो एउटा संझौता नभई समझदारी पत्र हो, जुन नेपाल र बंगलादेश बीच गत अगस्तमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा विद्युत तथा उर्जा क्षेत्रमा एउटा महत्वपूर्ण सहकार्य हो । यसका लागि दुवै देशले आफ्नो कार्यगत समूह, सचिवालय र प्राविधिक समुह तयार पारेका छन् । जसबाट नेपाल र बंगलादेश कसरी उर्जा क्षेत्रमा सहकार्य गर्दै व्यापार बिस्तार गर्ने भनि अगाडि बढ्नेछ ।

बंगलादेशको अर्थतन्त्र एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ ।  गत वर्ष, हाम्रो अर्थतन्त्र ८ प्रतिशतको दरले बढ्यो र सन् २०४१ सम्ममा बंगलादेशको अर्थतन्त्रलाई एउटा विकसित अर्थतन्त्रको रुपमा अगाडी बढाउने योजना छ । यससँगै हाम्रो विद्युतीय माग सन् २०४१ सम्ममा ४० हजार मेगावाटमा वृद्धि हुने र हामीलाई लाग्छ, नेपालले बंगलादेशको विद्युतीय मागलाई पुरा गर्न सफल हुनेछ, जुन यो सहकार्यको आधार स्तम्भ हुनेछ ।

यस सम्बन्धमा भन्नुपर्दा के बंगलादेश नेपालको हाईड्रो पावर प्रोजेक्टमा संयुक्त लगानी गर्न ईच्छुक छ ?

हो ! हामीले केही समय अगाडी मात्रै उद्घोष गरेका थियौं की बंगलादेश नेपालको हाईड्रो पावर क्षेत्रमा करिब १ खर्ब रुपैंयाँ लगानी गर्न ईच्छुक छ । नीजि क्षेत्रलाई पनि लगानी गर्न प्रोत्साहित गरिएको छ । यदि लगानी नगरे पनि बंगलादेश नेपाली विद्युत खरिद गर्न ईच्छुक रहेकोले जुनसुकै माध्यमबाट समान सहकार्यमा जान सहयोग गर्नेछ ।

नेपाल र बंगलादेश बीच व्यापार सम्बन्धको लामो इतिहास छ, यस प्रकारको द्विपक्षीय व्यापारमा यहाँको भूमिका के हुन्छ ?

बंगलादेशको अर्थतन्त्रलाई निर्यातले धानिरहेको छ, अहिले हामीले ३७ देखि ३० अर्ब डलरको निर्यात गरिरहेका छौं । नेपालमा सानो परिमाणमा मात्र ४० लाखको निर्यात भईरहेको अवस्था छ भने नेपालको बंगलादेशमा निर्यात पनि त्यति राम्रो परिमाणमा भईरहेको छैन । यो स्थितिमा सुधार ल्याउन नेपाल साथै आयातकर्ता र निर्यातकताहरुसँग सहकार्य गर्दै बंगलादेश राजदुतावासले सहजकर्ताको भूमिका खेल्दै आईरहेको छ । हामीले बंगलादेशमा एकल देशीय व्यापार मेला पनि आयोजना गर्याैं, जसमा बंगलादेशी व्यापारीहरुले नेपाली बजारमा आफूहरुलाई चिनाए भने बंगलादेशको विभिन्न उत्पादनहरु नेपाली उपझोत्तामाझ प्रस्तुत गर्ने वातावरण बन्यो ।

गार्मेन्ट उत्पादनको लागि बंगलादेश एकदमै लोकप्रिय छ, यहाँले नेपाल र बंगलादेश बीच यस सम्बन्धमा सहकार्यको केही सम्भावनाहरु देख्नु भएको छ ?

अहिले हामी गार्मेन्ट उत्पादनमा दोश्रो ठूलो उत्पादक र निर्यातकर्ता भएका छौं । साच्चैं नै नेपाल र बंगलादेश बीच यस सम्बन्धमा सहकार्यको बलियो सम्भावनाहरु रहेका छन् । यसका लागि नीजि क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न सके समग्रमा सबैलाई फाईदा पुग्नेछ । केही समय अगाडि बंगलादेशमा केही उद्योगकर्ताहरु बीच  भएको छलफलबाट नेपालको अमेरिकी बजारसँग सहज पहुँच हुने र उनीहरु नेपालमा उद्योग पुर्नस्थानान्तरण गर्न ईच्छुक रहेको र दुवै देशले यसबाट फाईदा लिन सक्ने भएकोले बलियो सम्भावना देखेकी छु ।

नेपालमा राजदुतको रुपमा काम गर्दा यहाँले के कस्ता चुनौतीहरु भोग्नु पर्याे ?

नेपालमा राजदुतको रुपमा काम गर्दा मैले कुनै प्रकारको चुनौतीहरुको सामना गर्नु परेको छैन । मेरो भनाई बंगलादेश राजदुतकीयको रुपमा नेपालमा काम गर्न सहज भईरहेको छ, विशेष गरी नेपालीहरुको मैत्रीपूर्ण व्यवहार र सहकार्यले काम गर्न एकदमै सहज अनुभव भयो ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै करिब १ लाख पर्यटक भित्र्याउने योजना बनाएको छ, यो ईभेन्टलाई बंगलादेशले कसरी लिएको छ ?

नेपालले गत वर्ष मात्रै बंगलादेशबाट ३५ हजार पर्यटकलाई स्वागत गरेको थियो । हामी त्यो संख्यामा वृद्धि भएको हेर्न चाहन्छौं तर नेपालले उपयुक्त बजार व्यवस्थापन गर्न सकिरहेको छैन । बंगलादेशको अर्थतन्त्रमा वृद्धि भईरहेकोले यहाँका मानिसहरुको वैदेशिक भ्रमणमा पहिलेको भन्दा परचेजिङ पावर पनि बढ्दै गई रहेको छ । बंगलादेशबाट हवाई मार्ग हँुदै नेपाल आईपुग्न जम्मा १ घण्टा लाग्ने र नेपालको हिमालहरु साच्चिकै प्रकृतिको अदम्य उपहार हो । नेपालले पर्यटन क्षेत्रको बिस्तारका लागि आफ्नो विभिन्न संचारमाध्यमहरुबाट प्रोमोज, रोड सो मार्फत् काम गरे थप टेवा पुग्नेछ । नेपाल बंगलादेश जोड्ने सिधा सडक मार्गको विकास भएमा बंगलादेशबाट नेपाल आउने पर्यटकहरुमा वृद्धि हुनेछ । विशेष गरी पूर्वी नेपाल जस्तै झापा, ईलाम वा प्रदेश १, २ को प्रवर्द्धनमा जोड दिएको खण्डमा ईकोनोमिक प्याकेज साथै आवातजावतमा सहज हुनेछ ।

यस प्रकारको २०२० कार्यक्रम एवम् फुड फेस्टिभल प्रवर्द्धन सम्बन्धी बंगलादेश राजदुतावासको कुनै कार्यक्रम छ ?

यो मार्चमा हामीले नेपालमा बंगलादेश फुड फेस्टिभल कार्यक्रमको आयोजना गर्याैं, किनभने हामीलाई लाग्छ, अधिकांश नेपालीहरु बंगलादेशी संस्कृतिको बारेमा अझै पनि अनविज्ञ छन् ।

यसका लागि बंगलादेश राजदुतावासले विभिन्न फिल्म फेस्टिभल, आर्ट फेस्टिभल तथा फोटो फेस्टिभल, संगीत, नृत्य कार्यक्रम आदिको आयोजना गर्दै आईरहेका छ । जसबाट नेपालले हाम्रो बारेमा सिक्न सक्दछ ।

नेपालको कति ठाँउहरु यहाँले भ्रमण गर्नु भएको छ ?

मैले नेपालका प्राय ठाँउहरु भ्रमण गरिसकेकी छु, तर नेपालको सोलुखुम्बु र सुदुर पश्चिम क्षेत्रमा भ्रमण गर्ने अवसर मिलेको छैन । यसरी भन्दा धेरै, थोरै मैले नेपालको सबै ठाँउहरु पुगेकी छु ।

तपाईको विचारमा नेपालको कुन चाहीँ राम्रो अभ्यास बंगलादेशले अपनाउन सक्छ ?

मेरो विचारमा नेपालको सबैभन्दा उत्तम अभ्यास भनेको यहाँका मानिसहरुको मैत्रीपूर्ण व्यवहार र पर्यटकहरुलाई स्वागत, सत्कार गर्ने परम्परा मुख्य हो, जुन अभ्यासलाई बंगलादेशले अपनाउन सक्छ । नेपालले पर्यटन प्रवर्द्धनमा गरेको अभ्यास एकदमै स्वागत योग्य छ । बंगलादेशमा पनि संसारकै सबैभन्दा लामो समुन्द्री विच, ककसस विच र ठूलो आँपको बगैंचा रहेको छ तर हामीले वास्तवमा भन्नु पर्दा पर्यटन प्रवर्द्धनमा चुकिरहेका छौं र यो एउटा चीज हुन सक्छ, जुन बंगलादेशले नेपालबाट सिक्न सक्छ ।

हालै मात्र नेपालमा सम्पन्न बिम्सटेक सम्मेलनमा बंगलादेशको उपस्थितिलाई कसरी हेर्नु भएको छ ?

बास्तवमै भन्नुपर्दा बंगलादेशको आफ्नो मुख्य नीति भनेकोे क्षेत्रीय सहकार्यलाई अझ मजबुत बनाउनु हो । बंगलादेशले सार्क राष्ट्रहरु बीचको सम्बन्धलाई सुदृढ बनाउन प्रमुख भुमिका खेलेको र बिम्सटेकको पनि एउटा प्रमुख सदस्य राष्ट्र हो । हामीलाई लाग्छ, कुनै पनि मुलुकको समग्र विकास र समृद्धिको लागि उक्त मुलुकको सम्पूर्ण क्षेत्रको विकास हुनु जरुरी छ जसबाट राजनीतिक अस्थिरता हाबी हुँदैन । बिम्सटेक सम्मेलनमा विभिन्न सेसनहरुमा भएको छलफल कार्यक्रममा बंगलादेशको सम्माननीय प्रधानमन्त्रीको उपस्थिति महत्वपुर्ण रह्यो ।

सार्कको अहिलेको अवस्थाको बारेमा यहाँको भनाई के छ ?

सार्क मुख्य रुपमा सार्क राष्ट्रहरु बीचको सम्बन्धलाई सुदृढ बनाउन लक्षित छ, तर धेरैलाई सार्कले राम्रोसँग काम गर्न सकिरहेको छैन भन्ने लाग्छ । सार्क सम्मेलन हुन नसक्नु एउटा कुरा हो तर सचिव स्तरीय दैनिक भेट, कार्यशाला, सेमिनार, तालिम जस्ता कार्यक्रमहरु संचालन भईरहेका छन् । मेरो विचारमा यी कार्यक्रमहरु फलदायी छन् । यसले सार्क राष्ट्रहरुलाई अगाडी बढ्न एउटा आधार दिएको छ ।

बंगलादेश नेपाली विद्यार्थीहरुका लागि विशेष गरी चिकित्सा क्षेत्रको अध्ययनको रोजाई देश बन्दै गईरहेको छ, यस बारेमा यहाँ के भन्न चाहनुहुन्छ ?

बंगलादेशको बारेमा मैले नेपाली विद्यार्थीहरुबाट राम्रो पृष्टपोषण पाए । उनीहरुले बंगलादेशको शिक्षा प्रणाली गुणस्तरीय र इकोनोमिकल भएको बताएका छन् । विद्यार्थीहरुको रोजाईमा बंगलादेश पर्नु हाम्रो लागि गौरवको कुरा हो । हामी मनैदेखि उनीहरुलाई स्वागत गर्न चाहन्छौं । बंगलादेश चिकित्सा क्षेत्रको अध्ययनको लागि मात्र नभई अन्य क्षेत्रहरु जस्तै ईन्जिनियरिङ, फार्मेसी, पब्लिक हेल्थ, कृषि, व्यवस्थापन आदि विषयहरुका लागि पनि राम्रो मानिन्छ । नेपाली विद्यार्थीहरुले विशेष गरी राम्रो शिक्षण संस्थाको छनौट गर्दा सम्बन्धित निकायहरुबाट आवश्यक परामर्श लिएर आउनु उययुक्त हुन्छ ।

के बंगलादेश राजदुतावासमा विद्यार्थीलाई सहयोग गर्ने कुनै संयन्त्र रहेको छ ?

हामी कहाँ हाम्रो कर्मचारीहरुले यस सम्बन्धमा काम गर्दै आइरहनु भएको छ, जो कोही विद्यार्थीहरुले वहाँहरुबाट सल्लाह लिन सक्नुहुनेछ र सो सेवा पूर्ण रुपमा निःशुल्क हुनेछ ।

अन्त्यमा, हाम्रा दर्शकहरुलाई यहाँले के भन्न चाहनुहुन्छ ?

मैले भन्नुपर्दा नेपाल र बंगलादेश बीचको द्विपक्षीय सम्बन्ध एकदमै राम्रो छ । यी दुई देश बीचको सम्बन्ध बर्षौसम्म अझ प्रगाढ बन्दै गएको हेर्न चाहन्छु ।

(परिवर्तनकर्मी हरिप्रसाद पौडेल र विमला गुरुङको विशेष सहकार्यमा तयार गरिएको ।)

अंग्रेजीको लागि यो पढ्नुहोस्

Bangladesh willing to invest one billion dollars in the hydro sector of Nepal –Bangladeshi ambassador to Nepal

प्रतिक्रिया दिनुहोस्