
२४ असार २०७६, काठमाडौँ
पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही वर्षयता अभिनेत्री साम्राज्ञीको नेपाली चलचित्रमा निकै लोभलाग्दो डिमान्ड छ ।
चलचित्र ‘ड्रिम्स’ उनले डेब्यू गरेको पहिलो चलचित्र थियो । ‘ड्रिम्स’ मा उनको अभिनयको निकै प्रशंसा भएको थियो । यो फिल्मपछि उनले आफ्नो करिअरलाई फर्केर हेर्नु परेको छैन न त आत्मसमिक्षा नै गर्ने फुर्सद छ उनीसँग ।
डिमान्ड जतिजति चर्किदो छ पारिश्रमिकको मामलामा पनि उनी अग्रस्थानमा छिन् । साम्राज्ञी यतिबेला भने दुवै चलचित्रको छायांकन सकेर रेष्टमा छिन् ।
डेब्यू चलचित्र पछि रिलिज चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ सम्म उनले शहरिया युवतीको भूमिका निभाएकी थिइन् । यो बर्ष उनको २ चलचित्र प्रदर्शनमा आउँदै छन् । यस वर्ष प्रदर्शनमा आउने दुई फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ भने उनलाई पहिलो पटक बिल्कुलै फरक भूमिकामा देख्न पाइनेछ । ‘रातो टिका निधारमा’ मा उनी एकल महिलाको भूमिकामा रहेको चर्चा छ ।
नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ मा भने उनी विवाहित महिलाको भूमिकामा छिन् । ‘मारुनी’ मा उनी अभिनेता पुष्प खड्कासँग देखिदै छिन् । निर्माण टिमले आइतबार सार्वजनिक गरेको एक पोस्टरमा उनको आधा अनुहार देखाइएको छ भने सिउँदोमा सिन्दुर र निधारमा गोलो आकारको ठूलो रातो टिका देख्न सकिन्छ । निर्माण टिमले उनको भूमिकाको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।





