ओली सरकारको अर्काे लोकप्रिय कदम क्लिन फिड नीति 



१२ असार २०७६, काठमाडौं

केहि घटनाक्रमहरुबाट वर्तमान ओली नेतृत्वको सरकारलाई आलोचना भएको भएपनि लामो समयपछिको स्थिर सरकारले धेरै राष्ट्रवादी र जनपक्षीय कामहरु थालनी गरेको छ । यसको पछिल्लो कदमको रुपमा सरकारले लागु गर्न लागेको क्लिन फिड नीतिलाई लिन सकिन्छ ।

सुन्दा सामान्य लाग्ने क्लिन फिड नीति लागु भएसँगै नेपाली विज्ञापन उद्योगमा यसले निकै सकारात्मक प्रभाव पार्छ भने दशकौँदेखि विज्ञापनको क्षेत्रमा रहेको भारतीय दबदबा समेत अन्त्य हुनेछ । नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन फाईदा पुग्छ भने नेपाली कलाकारिता क्षेत्रलाई समेत ठूलो राहत हुनेछ ।

के हो क्लिन फिड नीति ?
क्लिन फिड भन्नाले कुनै किसिमको रोकावट बिना आफूले चाहेको कार्यक्रम र च्यानल हेर्न पाउनुपर्छ भन्ने मान्यता हो । अर्थात विज्ञापन बिना जुनसुकै च्यानलका कार्यक्रम हेर्न पाउने व्यवस्था हो । सरकारले कार्यान्वयन गर्न लागेको यो नीति लागु भएमा कुनैपनि विदेशी च्यानलमा उनीहरुका विज्ञापन प्रशारण हुँदैनन् । विज्ञापन गर्नुपर्ने नेपालमा उत्पादन भएका विज्ञापनहरु प्रशारण गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय रुपमा क्लिन फिडको अभ्यास लामो समयदेखि भएको छ तर नेपालमा यो अभ्यास लागू नभएको कारणले यसको चर्चा र विरोध समेत भैरहेको छ ।

ओली सरकारले क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन सकेमा नेपाली विज्ञापनको बजार विस्तार हुन्छ र राष्ट्रिय कलाकारहरुले काम पाउनेछन् । यसले एकातिर कलाकारको आम्दानी र महत्व बढ्छ भने अर्काे तर्फ नेपाली विज्ञापनको बजार समेत निकै बढ्नेछ ।

अहिले क्लिन फिड नीति लागू नभएको कारण विशेषगरी भारतीय च्यानलहरुले नेपालमा पैसा खर्च नगरी करोडौँको विज्ञापन निःशुल्क रुपमा गर्न पाएका छन् । जसबाट अर्बौको मुनाफा गर्न सफल भएका छन् । क्लिन फिड लागू भएपछि दशकौँको भारतीय विज्ञापनको एकाधिकार अन्त्य हुनेछ । अहिले भारतीय च्यानलहरु हेर्दा पटक–पटक भारतका च्यानलमा भएको विज्ञापन हामीले हेर्नुपर्छ त्यो विज्ञापन बापतको पैसा नेपालका कुनै निकायमा बुझाएको हुँदैन ।

अहिले नेपालमा सोनी, स्टार गोल्ड, म्याक्स आजतक जस्ता टिभी च्यानल नेपालीहरुले दैनिक हेर्छन् । त्यसमा त्यी च्यानलमा नेपालको लागि छुट्टै विज्ञापन बनाउदैनन् र खर्च पनि गर्दैनन् । यदि क्लिन फिड लागू गर्ने हो भने त्यस्तो विज्ञापन गर्न नेपालमा पैसा तिर्नुपर्छ र नेपाली कलाकारहरुले अभिनय गर्ने मौका र पारिश्रमिक समेत पाउछन् । त्यसले नेपाली कलाकार र नेपाली विज्ञापन बजार दुबैलाई फाईदा पुग्छ ।

क्लिन फिडको बारेमा पहिलो पटक प्रधानमन्त्री भएका केपी ओलीले २०७३ साल साउन ७ को क्याबिनेटबाट निर्णय गरी  २०७४ साउन १ देखि कार्यान्वयन गर्ने निर्णय गरेका थिए । तर त्यसपछि तत्काल केपी ओली सरकार ढल्यो र त्यसपछिका प्रधानमन्त्रीले उक्त निर्णय कार्यान्वयनमा खासै चासो देखाएनन् । अहिले संचार मन्त्रालयले साउन १ गतेबाट क्लिन फिड लागू गर्ने भने सँगै यो बहस शुरु भएको छ ।

सरकारले क्लिन फिड नीति लागु गर्ने घोषणा गरे सँगै नेपाली कलाकारहरुले खुशी ब्यक्त गरेका छन् । यस विषयमा नेपालका चर्चित कलाकारहरुले फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णको खुलेर समर्थन गरेका छन् ।

चर्चित हास्य कलाकार मनोज गजुरेल लेख्छन्, ‘म ढुक्क छु- ‘क्लिन फिड’ आएपछी कुनै रोकावट बिना मैले चाहेको च्यानल हेर्न पाउनेछु । मन परेको कार्यक्रमको मज्जा लिने सक्नेछु । बिदेशी कम्पनीले नेपाली बजारमा बिज्ञापन नै नगरी अर्बौं लान्थ्यो, त्यो हुनेछैन । तिनले नेपाली माटो सुहाउँदो बिज्ञापन नेपालमै बनाउनेछन् । नेपाली बिज्ञापन ब्यवसाय, नेपाली कलाकार र नेपाल देशको महत्व बढ्नेछ । त्यसैले भन्न मन लागेको छ- क्लिन फिड जिन्दाबाद ! सरकारी कदम सफल होस् !

चर्चित हास्य कलाकार तथा निर्माता, निर्देशक दीपकराज गिरी लेख्छन्,’आज म लेख्दैछू….
हामिले गॉउको महका चाका छोडेर डावर हनि खान थालेको
धेरै भो .. नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरन्जन को स्थान अहिले बिदेशी ब्रान्डले लिएका छन् .. कारण गुणस्तर मात्रै होइन..बिदेशी टेलिभिजनमा आउने बिज्ञापनको असर पनि हो …,,अत: सरकारले लिएको क्लिन फिडको निर्णय सहि छ , समर्थन छ!!!
बिदेशीलाइ हाम्रा देशमा घुम्न बोलाउने हो यहि स्थाइ बसोबास गराउने होइन त्यस्तै बिदेशी टेलिभिजन लाइ पनि नेपालमा स्वागत गर्नु पर्छ …
उनिहरूको ब्रान्ड प्रमोशन गर्ने बिज्ञापन लाइ होइन….. राष्ट्रीयता ,झन्डा बोकेर मात्रै हुदैन.!!

बरिष्ठ हास्य कलाकार तथा निर्देशक हरिवंश आचार्य लेख्छन्,’नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।

नायिका तथा निर्मात्री करिश्मा मानन्धर लेख्छिन्,’क्लिनफिड स्वागत योग्य ।
24 घन्टा मात्रै होइन सकिन्छ भने दिगो हुनुपर्छ । बिदेशी च्यानलहेर्न addicted भएका हामिहरुको लागि केहि समय अप्ठ्यारो पर्ला । हो हामीलाई लाइभ बिदेशी कार्यक्रम हेर्ने सुबिधाको लत परेको छ , तर त्यो ” सुका बचाउन खोज्दा रुपिया गुमाए भने झै हुन्छ , दुरदर्शिता राख्यो भने यो देशको हितमा हुनेछ , हो केवल च्यानलहरु लाई अप्ठ्यारो पर्न सक्ला ! तर केहि नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नु पर्छ ।
येसो गर्दा हाम्रो देशभित्र बन्ने टेलिभिजन सामाग्री स्तरीय हुनेछन् ।
हामिले प्रयोग गर्ने अधिकांश सामाग्री विदेशबाट आयातित हुन्छ ति सामग्रीहरुको बिज्ञापन स्वदेशमै
निर्माण हुनेछन् ।
सुन्दा सामान्य लागे पनि यो निर्णयले आर्थिक, संस्कृत रुपमा पक्कै सकारात्मक आसर पार्ने छ ।

प्रतिक्रिया दिनुहोस्