निलम्बित सांसद भन्छन्ः यही पार्टीमा बसेर संघर्ष गर्छु



११ अषाढ २०७६, काठमाडौं

कुनै पनि पार्टी तथा संस्थाको आ–आफ्नै खालको विधान तथा आचार संहिता हुन्छ ।

अनि त्यो संस्था अथवा पार्टीभित्र अटाएका सबैले नियम कानून तथा विधानहरुलाई मान्न जरुरी हुन्छ ।

उसले नियम कानून नमानेको खण्डमा अथवा आचार संहिता पालना नगरेमा उसलाई प्रावधान अनुसार अथा विधानमा के छ त्यो अनुसारको कारबाही भोग्नैपर्ने हुन्छ ।

यस्तै ‘समाजवादी पार्टी नेपाल’ले हालसालै एक जाना आफ्नो पार्टी सदस्यलाई पार्टीको नीतिविपरीत कार्य गरेको भनी निलम्बन गरेको छ ।

पार्टीले पार्टी सदस्य प्रदीप यादवलाई ६ महिनाको लागि निलम्बन गरेको हो ।

यादव किन परे त निलम्बनमा?

सांसद यादवलाई यूरोपेलि मुलुक लाट्भियामा स्वतन्त्र तिब्बत पक्षधरको एउटा कार्यक्रममा सहभागी जनाएको भनी निलम्बन गरिएको हो ।

यादव राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँसँगैं सो कार्यक्रममा सहभागी भएका थिए ।

सांसद यादवको सो कार्यक्रमको सहभागीताबारे नेपालस्थित चिनियाँ राजदूतावासले समेत चासो देखाएको समाचारहरु बाहिरिएका छन् ।

कारबाही

सो कार्यक्रमको सहभागीतापछि यादवलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

सांसद यादवको सहभागीता पार्टीको नीतिविपरीत ठानी सोधिएको स्पष्टीकरणमा यादवको चित्तबुझ्दो जवाफ नभएको भन्दै ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

“यादवको सहभागीता पार्टीको नीतिविपरीत भएकाले उनलाई कारबाही गरिएको हो ।” पार्टीका उप–महासचिव प्रकाश अधिकारीले बताएका छन् ।

के भन्छन् निलम्बित यादव?

सांसद यादवले आफुलाई पार्टीको निर्णय स्वीकार्य भएको बताएका छन् ।

सो कार्यक्रममा सहभागी हुँदै गर्दा नै आफु फसेको थाहा पाएको बताउँदै उनले पार्टीको कारबाही गर्ने निर्णयलाई सहर्स स्वीकार्ने बताएका छन् । यद्यपी, पार्टीको कारबाहीले भने आश्चार्यचकित भएको बताए ।

“म १२ वर्षदेखि पार्टीको सच्चा सिपाही हुँ । म पार्टीको निर्माणको लागि विगत १२ वर्षदेखि खट्दै आएको हु ।” यादवले बीबीसीसँग भने ।

मान्छेबाट जानेर वा नजानेर गल्ती हुने औंल्याउँदै यादवले आफुहरु निमन्त्रणा आएर गएको होईन भन्ने स्पष्ट पारे ।

उनले भने, “एकजना माननीयज्यूले भन्नुभयो, इन्टरनेशनल सांसदहरुको कार्यक्रम छ ।” त्यसपछि हामी गयौं ।

कार्यक्रममा आफुहरु घण्टौं नबसेको बताउँदै सांसद यादवले पार्टीको कारबाहीबाट धेरै नै चित्त दुखेको बताए ।

‘मन भने धेरै दुखेको छ, तर मलाई पार्टीको कारबाही स्वीकार्य छ । म यही पार्टीमा बसेर संघर्ष गर्नेछु ।’ उनले भने । पार्टी भनेको आमा हो, मैले आमासँग कहिल्यै गद्दारी गर्दिन ।

प्रतिक्रिया दिनुहोस्