कृषकलाई यान्त्रिक हलो वितरण



०३ असार २०७६, काठमाडौं

कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।

वडाले साविकको अमलाचौर गाविसका नौ वडामा कृषक समूह बनाएर हलो वितरण गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताउनुभयो । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ ।

गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वडाध्यक्ष पाठकले बताउनुभयो ।

एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिन यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिन्छ । हलोसँगै वडा कार्यालयले त्यसको प्रयोगको विषयमा प्राविधिक बोलाएर जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्