मनसुन ढिलाई हुँदा देशभर गर्मी



०१ असार २०७६, काठमाडौं

नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन ।

“मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ ।

तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’’ यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो ।

चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । नगरकोटी भन्छन्, “दक्षिण भारत आइपुगेको मनसुन त्यही रहेकोछ ।” अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्