आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च



२० जेठ २०७६, काठमाडौं

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ ।

पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो । चालु आव सकिन अब डेढ महिना पनि बाँकी छैन ।

महालेखा नियन्त्रकका अनुसार चालु आवको पहिलो दुई महिना (साउन– भदौ) मा ६ अर्ब ८५ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । जेठ लागे लगत्तै १५ दिनमा ६ अर्ब १५ करोड १५ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

तर, खर्चको आकार बढ्दा पनि आइतबारसम्म पुँजीगत खर्चको अवस्था नाजुक छ । कुल विनियोजन गरिएको ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये एक खर्ब ४१ अर्ब ६६ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । यो ४४.९१ प्रतिशत मात्रै हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्