
१६ जेठ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित चपली भद्रकाली स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
सेवा प्रदायक संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयनको अवस्था, कर्मचारीको व्यवहार, स्रोत परिचालन, सेवाको गुणस्तर, पारदर्शिता र प्रभावकारीता सम्बन्धी सेवाग्राही, सेवा प्रदायक र सरोकारवालाहरुको धारणाको आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा गरी प्राप्त उपलब्धी र गर्नुपर्ने सुधारका पक्षहरुलाई सार्वजनिक गरी जिम्मेवारी सहितको कार्य योजना नै सामाजिक परीक्षण मानिएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा सरोकारवाला सहित आयोजित पहिलो सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य चौकीका संरक्षक तथा नगरप्रमुख उद्धवप्रसाद खरेलले काममा जिम्मेवारी बोध गराउँदै सामाजिक जवाफदेहिता बढाउन सामाजिक परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै स्वास्थ्य चौकीले ६० प्रतिशत क्षमता परिचालन गरेको समेत बताए ।

वडा नं. २ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष राजेन्द्र खड्काले स्थानीय सरकारमा निर्वाचित भएपछि स्वास्थ्य चौकीको स्तरोन्नतिको लागि निकै काम गरेको भएपनि भौतिक संरचनाको अभावले सोचे अनुसार सेवा प्रवाहमा समस्या परेको भन्दै भवन निर्माणको लागि आवश्यक पहल गरिरहेको बताए ।


कार्यक्रमा बूनपा १ का वडाध्यक्ष सुरेन्द्र लामाले स्वागत मन्तव्य राखेका थिए भने बूढानीलकण्ठ स्वास्थ्य शाखा प्रमुख भवानी दाहालले सहभागीको प्रश्नको जवाफ दिदैं डा. राजन भट्टराई मार्फत नगरभित्र संचालित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा उपकरण सहयोग आउन लागेको जानकारी गराईन् ।

सामाजिक तथा विकास रुपान्तरण नेपालका महासचिव नकुल गौतमद्वारा संचालित कार्यक्रममा चपली भद्रकाली स्वास्थ्य चौकीका प्रमुख वेद बहादुर सिजालीले स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य चौकीले प्रदान गर्ने सेवाहरु र समग्र पक्षको बारेमा जानकारी गराएका थिए ।





