इमान्दार निर्माण व्यवसायीले थोरै रकममा काम सकियो भन्दै राज्यकोषमा जम्मा गरे ४० लाख



१३ जेठ २०७६, काठमाडौं

अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने प्रचलन अहिले पनि चल्दै आएको छ । तर रामेछापका एक निर्माण व्यवसायीले नमूना काम गरेर तोकिएको समय अगाडी नै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।

रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण सम्पन्न भएका हुन् ।

भूकम्पबाट क्षतिग्रस्त भवनको पुर्णनिर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् ।

यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो, सुनकोशी र खानीर थोदुङ जेभी जसका सञ्चालक रामबाबु घिमिरे हुन् ।

घिमिरेको निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएको थियो । त्यसको लागत रकम थियो १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ ।

तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्यो पनि निर्धारित समयमा नै ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएको ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता दिएको घिमिरेले सुनाए ।

घिमिरेको उदाहरणीय कामबाट राज्यको ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ । 

खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुर्णनिर्माण प्राधिकरणबाट भूकम्पपछिको पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टिन, ग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् ।

प्रतिक्रिया दिनुहोस्