बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा



०८ जेठ २०७६ सोलुखुम्बु

विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।

कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन ।

मौसम प्रतिकूल भएका कारण निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकूल भए बिहीबार दिउँसोदेखि विद्युत् सेवा सञ्चालन हुनेछ । सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको  पेनस्टक पाइप फेर्न कामसमेत सकिएकाले चाँडै विद्युत् बल्ने सम्भावना रहेको उपमहाप्रबन्धक मास्केले बताउनुभयो । छ सय किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनवेँसीलगायतका क्षेत्रमा विद्युत् वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्