बालिका अधिकार संरक्षणको लागि राष्ट्रिय संजाल गठन



०४ जेठ २०७६, काठमाडौँ

समतामूलक समृद्धि र सुखी नेपालको आधार, बालिकाका लागि समान अवसर र अधिकारको निम्ति स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्ने उद्देश्यले नेपालमा बालिका अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको पहलमा बालिका अधिकार संरक्षणको लागि राष्ट्रिय सञ्जाल गठन गरिएको छ ।

नेपालको संविधान तथा बालबालिका सम्बन्धी विभिन्न ऐन कानुनहरुले बालिकाहरुको अधिकार संरक्षणलाई महत्व दिएको भए पनि कार्यन्वयन तहमा आझै पनि धेरै सुधार गर्नुपर्ने अवस्था छ ।

बाल विवाह, बालिका माथि हुने बलात्कार, शारीरिक तथा मानसिक हिंसा, दुर्व्यवहार, भेदभाव, जस्ता घटनाहरु बाहिर आउन थाले पनि सबै अपधारीहरु कानुनी दायरा भित्र आएको अवस्था छैन । यिनै कुरालाई मध्यनजर राख्दै बालिकाहरु माथि हुने सबै प्रकारका हिंसा, दुर्व्यवहारका घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अनुगमन तथा दवाब सिर्जना गर्ने, स्थानीय तह, प्रदेश र संघीय तहमा बन्ने हरेक नीति नियम कानुन, कार्यविधिहरु, कार्यक्रमको निर्माण र प्रभावकारी कार्यान्वयनको लागि पैरवी गर्ने उद्देश्यले सातै वटा प्रदेशमा बालिका अधिकारको क्षेत्रमा काम गर्ने २५ वटा संस्थाहरुको सहभागितामा संजाल गठन गरिएको छ ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले संयोजक, स्वतन्त्रता अभियानकी ऋतु भट्टराई सहसंयोजक, सदस्यहरुमा निर्जना भट्ट, सिविन, इराधा गौतम आवाज र नविन कुमार शाही क्रियाडक रहेको ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

संजालको सचिवालय जागृति बाल तथा युवा सरोकार नेपालको केन्द्रीय सम्पर्क कार्यालय, काठमाडौँमा रहेकोे छ ।

गठन हुनु अगाडि संजालको आवश्यकता र उद्देश्यको विषयमा छलफल र प्रस्तुती भएको थियो । उक्त भेलामा अधिकार कर्मी तिलोत्तम पौडेल र रविन नेपालीले बालिका अधिकारको संरक्षणको निम्ति सबैको साथ सहयोग र सहकार्य जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्