
३१ बैशाख २०७६, काठमाडौं
सोलखुम्बुको सोताङ गाउँपालिकामा संचालित ‘एभरेष्ट कापी उद्योग’बाट उत्पादित कापीको माग बढेको छ ।
उद्योगमा नयाँ शैक्षिक सत्रसँगैं कापीको माग ह्वात्तै बढेको संचालक दुर्गा बस्नेतलाई उद्धत गर्दै सोलुबाट पत्रकार जेपी थुलुङले जानकारी दिए ।
सोताङ गाउँपालिका वडा न. ५ डाँडागाउँमा करिब २ महिना अघि सुरु भएको कापी उद्योगमा एक महिनाको अवधिमा ४० प्रतिशतले माग बढेको हो ।
उद्योगमा उत्पादित कापी सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका तथा थुलुङ दुधकोशी गाउँपालिकाको बिभिन्न बिद्यालयमा खपत भईरहेको छ ।
त्यस्तै छिमेकी जिल्ला खोटाङ तथा ओखलढुङ्गाबाट पनि कापीको माग अत्याधिक मात्रामा बढेको हो ।

एभरेष्ट कापी एद्योगमा अरु पसलको तुलनामा केही सहुलियतमा दरमा पाईने भएकाले कापीको माग बढेको संचालक बस्नेतको भनाई छ ।
गत चैत्रदेखि यता करिब २३ लाख थानको हाराहारीमा कापी विक्रि भएको संचालक बस्नेतले बताए ।
हालसम्म कापीका लागि आवश्यक कच्चा पदार्थ काठमाडौंबाट ल्याउने गरेको भएपनि अब भारतबाट आयात गर्ने योजना रहेको संचालक बस्नेतले बताएका छन् ।





