
३० बैशाख २०७६, काठमाडौं
चरमपन्थी समूह इस्लामिक स्टेटले भारतमा एक प्रान्त निर्माण गरेको दावी गरेको छ । शुक्रबार कश्मिरमा सुरक्षा फौज र सशस्त्र समूहबीच भएको एउटा झडपपछि यो दावी आएको हो ।
इस्लामिक स्टेटसँग सम्बन्ध रहेको अनुमान गरिएको सशस्त्र समुहसगँको झडपमा एक विद्रोहीको मृत्यु भएको थियो ।
शुक्रबार साँझ आईएसको समाचार एजेन्सी ‘एमाक’ले नयाँ प्रान्तको घोषणा गरेको हो । प्रदेशलाई आईएसले अलग नाम पनि दिएको छ । आईएसले जारी गरेको विज्ञप्तीमा प्रदेशको नाम ‘विलायाह अफ हिन्द’ उल्लेख छ ।
विज्ञप्तिमा कश्मिरको शोपियाँ जिल्लाको अमशीपोरामा आईएसले गरेको आक्रमणमा भारतीय सेनामा हताहती भएको दावी पनि गरिएको छ ।
शुक्रवारनै भारतीय प्रहरीले पनि शोपियाँमा मुठभेड भएको बताएको थियो । एक वक्तव्य जारी गदै प्रहरीले मुठभेडमा इश्फाक अहमद सोफी नामक एक विद्रोहीको मृत्यु भएको जानकारी दिएको छ ।
उता भारतीय प्रहरीले आईएसले भारतमा ‘प्रान्त’ निर्माण गरेको दावीको खण्डन गरेको छ ।
“यो प्रोपोगाण्डा मात्र हो । कश्मिरमा रहेको आइएससम्बद्ध सैन्य समूह पूर्ण रुपमा नष्ट भइसक्यो । तथापि केहीमा वैचारिक झुकाव रहेको तथ्यलाई नकार्न सकिँदैन,” भारत प्रशासित कश्मिरका एक शीर्ष प्रहरी अधिकारीले कतारी मिडिया अल–जजिरालाई बताए ।
अल जजिरासँग बोल्ने क्रममा प्रहरी अधिकारीले शुक्रबारको भीडन्तमा मारिएका सोफीनै आईएससँग सम्बन्धन रहेको अन्तिम कश्मिरी लडाकू भएको दावी गरे । “अर्को एक जना पनि थियो तर उसले अलग सशस्त्र समूहमा प्रवेश गरिसक्यो,” प्रहरी अधिकारीले भने ।
तर विश्वभरीका सशस्त्र लडाकूको निगरानी गर्ने ‘साइट इन्टेल ग्रुप’की निर्देशक रिटा कट्जले आइएसको दावीलाई वेवास्ता गर्न नहुने बताए ।
“कुनै उपस्थिति नभएको स्थानमा एक ‘प्रान्त’को निर्माणको दावी वकवास हो तर यसलाई वेवास्ता गर्न हुँदैन,” कर्जले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई भनिन् ।
“विश्व जगतले यस दावीमाथि अविश्वास गर्ला तर आइएसले दावीमार्फत कश्मिरको अस्थिर क्षेत्रका जिहादीहरुलाई ‘मुस्लिम विश्वको एकल राज्य(क्यालिफेट)’मा एकताबद्द हुन आह्वान गरेको हुन सक्छ,” रिटाले भनिन् ।
भारत–प्रशासित कश्मिरमा दशकौँदेखि भारतीय शासनविरुद्ध कयैन पृथकतावादी समूह हिंसात्मक लडाईं लडिरहेका छन् । यी मध्य बहुसंख्यक समूह कि त स्वतन्त्र कश्मिर देश चाहन्छन् या मुश्लिम–बहुल कश्मिरलाई मुस्लिम–बहुल पाकिस्तानमा गाभ्न चाहन्छन् । ती विद्रोहीले विगतमा कहिले पनि आईएसले जस्तो मुस्लिम विश्व शासन गर्ने माग राखेका थिएनन् ।
आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानले कश्मिरको लागि दुई पटक युद्ध लडिसकेका छन् । यही वर्ष पाकिस्तानमा आधार रहेको एक विद्रोही समूहले कश्मिरमा आत्मघाती आक्रमण गरेर ४० भारतीय अर्थसैनिकको हत्या गर्र्दा दुई देशबीच झण्डै पुनः युद्द शुरु भएको थियो । एजेन्सी





