धुलिखेल-खुर्कोट सडक दुई लेनको बनाउन सडक विभागद्वारा बजेटको माग



२० बैशाख २०७६, काठमाडौं

सडक विभागले विपी राजमार्ग अन्तर्गतको धुलिखेल– खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्न योजना अघि सारेको छ ।

आगामी वर्षको बजेटबाट नै यो खण्डको विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग राखेको छ ।

यो प्रस्तावमा अर्थमन्त्रालयले सकारात्मक जवाफ दिएको उच्च अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार यो क्षेत्रको सडक विस्तारमा स्थानीयले दवाव दिईरहेका छन् ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको छ । ओखलढुङ्गा, खोटाङ, दोलखा, रामेछाप लगायतका जिल्लाका सवारी साधनको चाप धेरै भएकाले पहिलो चरणमा खुर्कोटसम्मको सडक फराकिलो बनाउने प्रस्ताव गरिएको हो ।

हाल यो सडकमा पूर्वबाट आउने र पूर्वी पहाडी क्षेत्रमा जाने साना सवारीको बाहुल्यता धेरै छ ।

यो सडक खण्डमा रातको समयमा ठूला सवारी साधन चलाउन निषेध गरिएको छ ।

वीपी राजमार्ग पुनर्निर्माणको लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान स्वरुप सहयोग गर्ने सम्झौता भईसकेको छ ।

विभिन्न कज–वेहरुमा पुल बनाउने गरी सडक विभागसँग सम्झौता भएकोले, अब विपी राजमार्गमा बन्ने पुलहरु पनि दुई लेनकै हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्