
१६ बैशाख २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. २ ले बहसदेखि विकाससम्म भन्ने उद्देश्यका साथ एक दिवसीय युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बूनपा २ द्वारा आयोजि युवा संवादको भिडियो :
कार्यक्रममा वडाभित्र रहेका युवा क्लबहरूबीच सामुहिक बहस आयोजना गरी स्थानीय युवाहरुले गरेका काम, वडा र नगरपालिकाले गरेका कामहरुको जानकारी सहित युवाहरुले वडाध्यक्ष राजेन्द्र खड्का र नगरप्रमुख उद्धवप्रसाद खरेललाई प्रश्नहरु सोधेका थिए ।

वडाध्यक्ष र नगरप्रमुखले युवाहरुले सोधेका प्रश्नको जवाफ दिदैं वडा र नगरपालिकाले गरेका र गर्ने कामहरुको बारेमा जानकारी गराएका थिए । युवा नीलकण्ठले संयोजन गरेको कार्यक्रममा वडा नं. २ का नवरूद्रेश्वर युवा क्लब, नेपाली युवा क्लब, वासिकु क्लब, चन्द्रनगर युवा क्लब र भङ्गाल युवा क्लबका युवाहरूको प्रस्तुतीकरण सहितको सहभागीता रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख खरेलले नगर विकासमा युवा परिचालन अपरिहार्य रहेको बताउँदै हरेक क्लबहरुले आफ्नो ठाउँको विकासमा अझ क्रियाशील हुन अनुरोध गर्दै सामूहिक रुपमा गरिने सामाजिक कामको लागि नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्काले युवाहरूलाइ विकासमा सहभागी गराउन र उनीहरुको भावना बुझ्नको लागि वडा कार्यालयले युवा संवादको आयोजना गरको बताउँदै वडा कार्यालयले गरेका कामहरुको बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।

बहसमा सहभागी युवाहरूलाई विभिन्न समूहमा विभाजन गरी उनीहरुको भावना, योजना बुझ्ने प्रयाश गरिएको थियो ।

युवा संवादलाई युवानीलकण्ठका सुमित खरेल, निमेष थापा, सुमित्रा श्रेष्ठ, विनोद पाठकलगायतले सहजिकरण तथा संचालन गरेका थिए ।

(तस्वीर साैजन्यः सुमित खरेल)





