सामुदायिक विद्यालयको गुणस्तर सुधारका सम्भावनाको खोजी गर्न सरोकारवालाको पहिलो छलफल सम्पन्न



१० बैशाख २०७६, काठमाडौं

देशभरिका सार्वजनिक विद्यालयको गुणस्तर सुधारको लागि सरोकारवालाहरु बीचको पहिलो छलफल कार्यक्रम गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा आज सम्पन्न भएको छ।

छलफलमा शिक्षाविद प्रा. डा. विद्यानाथ कोईराला, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होम नारायण श्रेष्ठ, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी, विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा, अभिभावक महासंघका संयोजक धर्मदत्त देवकोटा लगायत नगरपालिका संघका पदाधिकारीहरु, गाउँपालिका महासंघका पदाधिकारीहरु सहभागी थिए।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठले २०५४ सालमा आफू नगरपालिकाको उपमेयर हुँदा तात्कालिन नेपाल सरकारले प्रयोग गरेको पहिलो प्रयोग स्वरुप १४ ओटा सामुदायीक विद्यालय संचालन गरेर स्थानीय  तहले विद्यालयको व्यवस्थापन र संचालन गर्न सक्छन् भन्ने अनुभव र सफलता प्राप्त गरेको बताए। छलफलमा वर्तमान संविधानले शिक्षा सम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएकोमा अधिकारको विषयलाई लिएर संघीय सरकार र शिक्षक संघ/संगठनले विरोध गर्नुले संवैधानिक अधिकारको कार्यान्यन गर्नुभन्दा अधिकार रोक्न तर्फ उद्दत भएको आरोप लगाए।

अभिभावक महासंघका धर्म दत्त देवकोटाले प्रणाली लोकतान्त्रिक भएपनि कार्यशैली लोकतान्त्रिक नभएको कारण द्वन्द बढेको बताउँदै स्थानीय सरकारलाई दिएको अधिकार कटौती गर्नुभन्दा थप्नुपर्नेमा जोड दिए।

पहिलो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वत्ताहरुमा स्थानीय सरकारमा निर्वाचितहरु संचालनको जिम्मेवारी स्थानीय सरकारले पाउनुपर्ने माग गर्दै विधार्थीको भविष्य भन्दा पेशागत र अधिकारको आन्दोलनमा शिक्षकहरु लागेको अनुभव सुनाउँथे भने शिक्षक संघ संगठनका प्रतिनिधिहरु स्थानीय सरकारले गुण्डागर्दी गरेको, विद्यालयको सम्पत्ति लिएको, शिक्षकहरुको सम्मान नगरेको भन्दै शिक्षाको सम्पूर्ण अधिकार संघीय सरकारमा केन्द्रित हुनुपर्नेमा जोड दिन्थे।

कार्यक्रमको थालनी एकले अर्कोलाई दोष देखाउनेतर्फ़ केन्द्रीत भएको भएपनि छलफलको अन्त्यमा ५ ओटै महासंघको लुज नेटवर्क प्रदेश र स्थानीय तहसम्म बनाउने, शिक्षकहरु सामाजिक, ट्रेड युनियन र पेशागत अधिकारको रक्षा गर्न सबैले सहयोग गर्ने, शिक्षकहरुको योगदानको सम्मान गर्ने र बालबालिकाको शैक्षिक विकासको लागि मिलेर काम गर्ने विषयमा सहमत भएको छलफलमा संयोजनकारी भूमिका निर्वाह गर्नुभएका सहभागी शिक्षाविद डा. विद्यानाथ कोईरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्