एक सशक्त शिक्षासेवी सरिता देवकोटाको रोमाञ्चक शैक्षिक यात्रा



०४ बैशाख २०७६, काठमाडौं

सरिता देबकोटालाई जति शिक्षासेवीको रुपमा चिनिन्छ त्यति नै समाज सुधारकको रुपमा पनि चिनिन्छ । समाजमा आइपरेका समस्याहरूलाई समाधान गर्नेदेखि अन्यायमा परेकाहरुलाई न्याय दिन सक्षम उनी सामाजिक न्यामूर्तिको रुपमा समेत परिचित छिन् । बास्तबमा देवकोटा एक उदाहरणीय क्षमतावान नेतृत्व र शिक्षासेवी हुन् ।

२०१८ साल १० महिना ३० गते सरिता देबकोटाको जन्म माता बेदादेवी देवकोटा र पिता रेवती प्रसाद देवकोटाको कोखबाट लक्ष्मीपुर ४ डाँडागाउँ हालको घोराही  उपमहानगरपालिकामा भएको हो ।

शिक्षासेवी सरिता देवकोटा करिब २०३३ सालमा कक्षा १ मा भर्ना भइन् । उनको परिवार शिक्षित भएकोले छोरीलाई पनि छोरा सरह पढाउनुपर्छ भन्ने मान्यता उनको परिवारमा थियोे भने सानैदेखि सरिता मिहिनेत गरेर पढ्ने छात्रा थिइन् । एउटै स्कुलमा एसएलसी सम्म पढ्ने व्यवस्था नभएका कारणले उनलाइ सिद्धरत्न स्कुलमा कक्षा ६ मा भर्ना गरियो । उनले एसएलसी पद्मोदय स्कुल दाङबाट गरिन् भने प्रबिणता प्रमाणपत्र तह र स्नातक तह महेन्द्र आदर्श बहुमुखी क्याम्पस दाङबाट गरिन् । उनले स्नात्तकोत्तर (डिग्री) नेपालीमा २०५४ सालमा त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरबाट गरिन् ।

सानै देखि उनी शिक्षक बन्ने लक्ष्य राख्थिन् उनको शैक्षिक यात्रा २०५७ बाट सुरु भएको हो । कपिलवस्तुमा सरकारी स्कुलबाट शैक्षिक यात्रा सुरु गरेकी देवकोटा २०६० सालमा बात्सयान नामक बिद्यालयको प्रधानध्यापक भएकी थिइन्   ।

सधै हाम्रो समाजमा डाक्टर, इन्जिनियरलाई बढी  प्राथमिकता दिने नेपाली समाजमा उनलाई भने शिक्षक बनेर समाजमा शिक्षाको ज्योती छर्नुपर्छ भन्ने लागेको थियो । चाडबाडमा आफन्त शुभचिन्तकले आशिर्वाद दिदाँ सधै डाक्टर इन्जिनियर बन्ने तर शिक्षक बन्नु भनेर कसैले पनि भन्ने नगरेको कारणले उनलाई शिक्षक बन्न झनै प्रेरित गर्यो । बिद्यालय प्रवेश गर्दा उनी विद्यार्थीको मुहारमा भबिष्य देख्छिन् जसले उनलाइ जिम्मेवारीको बोध गराउँछ र ती भविष्यहरुलाई हुर्काउन पाउँदा आनन्द लाग्छ उनलाई । शिक्षा क्षेत्रमा लागेकोमा उनलाई आत्म सन्तुष्टि मिलेको छ ।

अझ सरिता देबकोटालाइ आफुले पढाएका विद्यार्थीहरुको शैक्षिक उन्नती देख्दा धेरै खुसी लाग्छ । उनले पढाएका विद्यार्थी यतिबेला सेतो एप्रोन लागएर विभिन्न हस्पिटलमा बिरामिको सेवा गरिरहेका छन् भने त्यतिकै मात्रामा इन्जिनियर, नर्स, शिक्षक लगायत थुप्रै क्षेत्रमा कार्यरत छन् । यी कुराहरुले सरिता देबकोटालाइ खुशी तुल्याउँछ ।

विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छिन् सरिता देबकोटा । नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको केन्द्रिय सहकोषाध्यक्ष भईसकेकी उनले २०६० सालमा प्याब्सनको साधारण सदस्य बनेर प्याब्सनको यात्रा सुरु गरेकी थिईन् ।

समाजका लागि एउटा उदाहरण हुन सरिता देबकोटा उनी विभिन्न संघ सस्थामा आबद्ध छिन् । पैरवी मंच दाङको जिल्ला अध्यक्ष क्षेत्रीय संवाद समूह सदस्य साथै विभिन्न सहकारीहरुमा आवद्ध रहेकी उनी लायन्स क्लबमा समेत आबद्ध छिन् ।

समाजमा आउने सानातिना मुद्दा मामिलालाई गाउँघरमा नै मिलाउनु उनको अर्को समाजसेवा हो ।

सानातिना विवाद घरायसी झै–झमेला न्याय संगत तरिकाले मिलाउन उनी आफ्नो सामाजिक दायित्व सम्झन्छिन् । यसकारण उनी  समाजमा न्यायमुर्तिको रुपमा समेत परिचित छिन् ।

यी सबै सामाजिक कामका लागि घर परिवारको उनलाइ राम्रै सहयोग मिलेको छ । उनलाइ यी सबै काम गर्न आफ्ना श्रीमानको ठूलो सहयोग रहेको छ ।

सरिता देबकोटा दाङमा एउटा शिक्षासेवी मात्र हैन समाज सेवाको पनि नाम हो । जसले शिक्षा मार्फत उज्यालो भबिष्य निर्माण गरिरहेका साना बालबालिका, विद्यार्थीहरुलाई जसरी शिक्षा दिइरहेकी छिन् त्यसरी समाजलाई पनि त्यसरी नै सिकाईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्