
०६ चैत २०७५, काठमाडौँ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकारलाई सम्मान गर्नुभयो ।
स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार भैरव रिसाल र पत्रकार महिला सम्मानबाट धरानकी पत्रकार मनिता चामलिङ राईलाई सम्मान गर्नुभयो ।
समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापना गरिएको सामाजिक पत्रकारिता पुरस्कारको राशि रु २५ हजार र सूर्य बरालको परिवारबाट स्थापना गरिएको पत्रकार महिला पत्रकारिता पुरस्कारको राशि पाँच हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले मुलुकको समृद्धिका लागि पूँजी, प्रविधि र दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै विदेशी लगानी भित्र्याउने खालको वातावरण तयार गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सर्वसुलभरुपमा जग्गा प्राप्ति, सुरक्षाको प्रत्याभूति हुन नसक्नु र झन्झटिलो कानूनी प्रक्रियाको कारण मुलुकमा लगानी भित्र्याउन नसकिने बताउँदै उहाँले विदेशी लगानीकर्ताको आकर्षण बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
सम्मानित व्यक्तित्व वरिष्ठ पत्रकार रिसालले मुलुकमा ठूलो परिवर्तन आएको स्मरण गर्दै पत्रकारिता कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । अर्का सम्मानित मनिता च्यामलिङ राईले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशील बनाउने विश्वास व्यक्त गर्नुभयो । (रासस )





