‘पिङ्काथन हाफ म्याराथन’को उपाधि सशस्त्रकी कान्छीमायालाई



११ फागुन २०७५, काठमाडौँ

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले जितेकी छिन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

उपाधिसँगै कान्छीमायाले रु ५१ हजार प्राप्त गरिन् । यसअघिका दुबै संस्करण समेत कान्छीमायाले नै जितेकी थिइन् । योसँगै कान्छीमायाले प्रतियोगिताको तीनै संस्करणको उपाधि जित्न सफल भएकी छिन् ।

त्यसैगरी नेपाल प्रहरीकी राजपुरा पछाईंले निर्धारित दुरी एक घण्टा २४ मिनेट ३३ सेकेण्डरमा पूरा गर्दै दोस्रो भइन् । त्यसैगरी सशस्त्र प्रहरीकै पुष्पा भण्डारी तेस्रो भइन् । पुष्पाले निर्धारित दुरी एक घण्टा २७ मिनेट ३० सेकेण्डमा पुरेकी थिइन् । दोस्रो भएकी राजपुराले रु ३१ र तेस्रो भएकी पुष्पाले रु २१ हजार प्राप्त गरे ।

यसैगरी १० किलोमिटरतर्फ एपिएफकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए । यो स्पर्धाका विजेताले रु ३१ हजार, दोस्रो हुनेले रु २१ हजार तथा तेस्रो हुनेले रु ११ हजार प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

भारतीय अभिनेता मिलिन्द सोमनले शुरु गरेको पिङ्काथन भारतमा निकै लोकप्रिय छ । भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको प्रतियोगिता नेपालमा सन् २०१७ देखि शुरु भएको हो । यो प्रतियोगिता सन् २०१७ देखि लेजर पोर्ट नेपालले यो इभेन्ट नेपालमा गर्दै आएको छ । आजको प्रतियोगितामा करीब दुई हजार ५०० महिला सहभागी भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिनुभयो ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिङ्काथन अभियान शुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्