जनताले मलाई महिलाको रुपमा नभएर सिंगो नेताको रुपमा स्वीकार गर्नुभयो : नगरप्रमुख सिमाकुमारी क्षेत्री (भिडियो सहित)



०६ फागुन २०७५, काठमाडौं

स्थानीय सरकारमा निर्वाचित थोरै महिला नगरप्रमुखमा पर्न पाउँदा गर्व गर्ने स्याङ्गजा पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्री स्कुले जीवन देखि निरन्तर राजनीतिमा सक्रिय महिला नेतृ हुन् ।

बाल्यकाल देखि निरन्तर राजनीतिक संघर्षकै कारण पार्टीले मूल्यांकन गरी टिकट दिएकोमा खुशी व्यक्त गर्ने क्षेत्री तत्कालिन नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हुन् । चुनावी दौरानमा अनेकौँ अप्ठ्यारोको सामना गर्दै विभिन्न पार्टीका सात प्रतिष्पर्धीलाई हराएर संघीय गणतन्त्रात्मक नेपालमा पुतलीबजार नगरपालिकाको पहिलो नगरप्रमुखको रुपमा समेत आफूलाई स्थापित गराईन् ।

आफ्नो विगत सम्झदैं उनी भन्छिन्, “म ६ कक्षा पढ्दादेखि राजनितीमा लागेकी हुँ । त्यसपछि म निरन्तर राजनीतिमा नै लागिरहे । पुतलीबजार नगरपालिकामा मैले टिकट पाउँदा धेरै खालको संघर्ष गरेर, धेरै ठाउँमा प्रमुख समेत भएर नेतृत्व गरेकी थिएँ । त्यसकारण पनि मलाई जनताले एउटा महिलाको रुपमा मात्र नभएर नेताको रुपमा पनि हेर्नुभयो । फलस्वरूप मैले मेरो प्रतिस्पर्धीलाई १२ सय २२ मतान्तरले जित्न सफल भएँ ।”

(पुतलीबजार नगरपालिकाकी प्रमुख सीमाकुमारी क्षेत्रीसँग परिवर्तन खबरकर्मीले गरेको कुराकानीमा आधारित)

तपाईलाई जनताले निकै विश्वास गरेर सानदार मत दिई जिताए । तपाई नगरप्रमुख भएपछि पुतली बजार नगरपालिकाका जनताले चाहिँ के पाए भन्ने प्रश्नमा नगरप्रमुख क्षेत्री भन्छिन्, “हामीले अहिले प्रत्येक वडाका कार्यालयलाई व्यवस्थित गरेका छौँ । जनतालाई सेवा र सुविधा त्यहाँबाट नै दिएका छौँ ।” त्यो त पहिले पनि थियो नि ? भन्ने प्रश्नमा, “पहिले पनि वडा कार्यालय त थियो तर जनताले सुविधा पाएका थिएनन् । अहिले हामीले १४ वटा वडामै इन्टरनेट जोडेर तिरो तिर्ने सेवा सुविधा गरेका छौँ । नगरपालिकामा जनताले मागे अनुसार  लगभग खानेपानी, बाटोघाटोको सुविधा पुर्याएका छौँ । अब स्तरोन्नति गर्न मात्र बाकिँ छ । अब हामी स्तरोन्नति पनि गर्छौ ।”

शिक्षा र स्वास्थ्यमा के गर्नुभयो ?, “विद्यालयमा पढाइ पनि अस्तव्यस्त थियो । हामीले त्यसलाई पनि व्यवस्थापन गर्दैछौँ । हामीले प्रत्येक वडामा स्वास्थ्यचौकीहरु राख्ने तयारी पनि गर्दैछौँ ।”

राजनीतिमा उनको योगदान र अनुभवको झल्को उनले गरेका काममा  प्रतिविम्बित गरेको बुझिन्थ्यो । हाम्रो प्रश्नमा आफ्ना थप कामबारे भन्छिन्, “सबै गाउँमा कच्ची बाटो पुगेको थिएन, अहिले हामीले पुर्याएका छौँ । अहिले जनताले वडाबाटै सेवा सुविधा पाउनु भएको छ । पहिले जनतालाई काम लिएर आउँदा जुन खालको अप्ठ्यारो थियो, पैसा नदिईकन काम हुँदैन भन्ने गुनासो थियो । ती गुनासोबाट हामीले मुक्त गरेका छौँ । सामुदायिक विद्यायको पढाइ राम्रो भएन भन्ने जनताको गुनासोलाई मध्य नजर गर्दै हामीले सामुदायिक विद्यालयलाई आईटीमा लानुपर्ने र विद्यालय व्यवस्थापन समितिलाई व्यवस्थापन गर्ने कुराहरुलाई समेत  उठाएका छौँ । त्यसमा दरबन्दीका समस्या पनि छन् । त्यसलाई पनि हामीले मिलान गरेका छौँ ।”

प्रष्ट योजना र गरेका कामहरु सुन्दा नगरप्रमुख क्षेत्रीको नेतृत्वपछि पुतलीबजार नगरपालिकाले सुशासन र विकासमा निकै फड्को मारेको बुझिन्थ्यो । साना काम छोडेर पुतलीबजार नगरपालिकाले तपाईको कार्यकालमा गर्ने ५ मुख्य काम के हुन्छन् भन्ने प्रश्नमा नगरप्रमुख क्षेत्री बुँदागत रुपमा भन्छिन्,

१) पुतलीबजार नगरपालिकामा नेपालकै नमूनायोग्य सफाई केन्द्र बनाउँछौँ ।

२) १४ वटै वडामा बाटो पिच गरेर लान्छौँ भनेर जनतालाई वाचा गरेका छौँ । अबको ५ बर्षमा हामी बाटोहरु पिच गछौँ ।

३) पुतलीबजार नगरपालिकाका वासिन्दाले पानी त पिउनु भएको छ । तर सफा र शुद्ध पानी भने पिउन पाउनु भएको छैन । हामी पुतलीबजारका हरेक जनताको घरमा सफा र शुद्ध पानीको व्यवस्था मिलाउँछौँ ।

४) महिलाको निम्ति १० प्रतिशत बजेट छुट्याएर महिला उद्धमशीलतालाई बढाउने तालिम दिएका छौँ । जुन तालिम उहाँहरुले लिनुहुन्छ, त्यसैमा उहाँहरुलाई व्यवसायिक बनाउन खोजिरहेका छौँ ।

५)  कृषि र पर्यटनलाई सबैभन्दा धेरै प्राथमिकता दिएका छौँ । त्यो क्षेत्रमा समेत नमूनायोग्य काम गर्छौं ।”

नगरप्रमुखले योजना र काम भन्दै गर्दा ५ वटा बुँदामा मात्र सिमित भएनन् । आफ्ना योजनाको फेहरिस्त सुनाउँदै क्षेत्रीले युवालाई निर्वाहमुखी नभई व्यवसायिक खेतीपातीमा लाग्न प्रोत्साहन गर्ने, त्यसको लागि कार्यविधि बनाएर युवाको ईच्छा अनुसार तालिम र अनुदानको व्यवस्था गर्ने बताईन् । गाउँका युवा शहर र शहरका युवा विदेश पलायन हुने समस्यालाई रोक्न यसै वर्षबाट वडा स्तरीय युवा लक्षित विकास कार्यक्रम संचालन गर्ने जानकारी समेत दिइन् । यसैको थालनीको रुपमा गाउँमा गाईपालन गर्ने युवालाई २ लाख दिएर भर्खरै सम्मान गरेको बताउँदै कृषि र पर्यटन क्षेत्रमा काम गर्ने युवालाई विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन् ।

पुतलीबजार नगरपालिकामा पर्ने खर्सुको लेकमा रहेको धार्मिक आस्थाको धरोहर प्राचीन मन्दिरको साथै प्राकृतिक गुफा र दृश्यले मनै लोभ्याउने नुवाकोट क्षेत्रको विशेष प्रवर्धन गरी पर्यटन बढाउने योजना रहेको समेत उनले बताईन् । यसै बर्षदेखि नगरपालिकाको ३ ठाउँबाट प्याराग्लाइडिङ शुरुवात गर्ने तयारी भएको भन्दै त्यसले नगरको पर्यटन विकासमा योगदान पुर्याउने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्