प्रहरीलाई पचासः सामान भन्सार पार



२३ माघ २०७५,वीरगन्ज

गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी समान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन् । सिट क्षमता अनुसार यात्रु भरिए ।

टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले । १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन् । उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए । उनको नाम सुगिया देवी रहेछ । चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई सिट मुनि लुकाइन् । बोरामा के छ भनी सोध्दा मरिच भएको बताइन् । यो संंवाददाता त्यही टेम्पोमा थियो । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।

घन्टाघरदेखि गुडेको टेम्पो रक्सौलसम्म पुग्दा ठाउँठाउँमा प्रहरीले लाठी बजाउँदै सिट मुनि के छ भनेर सोधे । सुगिया देवीले प्रहरीको हातमा ५०–५० का नोट थमाउँदै टेम्पो चालकलाई अगाडि बढ्न निर्देशन दिइन् । टेम्पो भन्सार नाकामा पुगेर रोकियो । त्यहाँ पनि एक प्रहरीले टेम्पोमा लाठीले हान्दै सुगियाको अनुहार हर्यो । सुगियाले टेम्पोको झ्यालबाट ५० को नोट थमाइन् । रक्सौल पुग्दा उनले पाँचजना प्रहरीलाई ५०–५० रुपैयाँ दिएकै भरमा १५ केजी मरिच पास गराउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्