बंगलादेशमा बने नेपालीमूलका मन्त्री



१९ माघ २०७५, काठमाडौं

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे ।

यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’

नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ (चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बंगलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार (बर्मा)सँग जोडिन्छ । हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए । याे समाचार पर्वच पाेर्तेलले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्